काठमाडौं, २८ फागुन । नेपालमा दृष्टिविहीन पनि सपांगभन्दा कुनै अर्थमा कमजोर छैनन् । नेपालमा हाल चारजना दृष्टिविहीनले विद्यावारिधि गरिरहेका छन् । त्यस्तै स्नातकोत्तर तहमा ५५ जना, स्नातक तहमा १५० तथा एसएलसीमा ८५० जना महिलाले अध्ययन गरिरहेको छ ।
नेत्रहीन महिला संघ नेपालले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा कार्यपत्र प्रस्तोता नीरा अधिकारीले कूल एक लाख महिला दृष्टिविहीनमध्ये १ सय ३४ महिला दृष्टिविहीनले रोजगारी पाएको जानकारी दिइन् । आफै दृष्टिविहीन उनी शाखा अधिकृतमा कार्यरत छन् ।
उनका अनुसार शिक्षण पेसामा १०२ महिला, गैरसरकारी संस्थामा छ महिला दृष्टिविहीन, टेलिफोन अपरेटरमा छ दृष्टिविहीन महिला, उद्यमीतर्फ एकजना, संगीततर्फ पाँच, निजामतितर्फ तीन चिकित्सा क्षेत्रमा तीन तथा औद्योगिक क्षेत्रमा चार महिला दृष्टिविहीन कार्यरत छन् ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोद गुरागाईंले दृष्टिविहीनले पनि समाजमा सपाङ्गले भन्दा धेरै क्षमता प्रस्फुटन गरेको बताउँदै उनीहरूलाई प्रोत्साहन दिन कोषले सहयोग गरिरहेको बताए ।
नेत्रहीन महिला संघका अध्यक्ष सीता सुवेदीले नेत्रहीनको विकासका लागि सरकारले खासै पहल नगरेको भन्दै आफ्नो क्षमताबाट रोजगारीमा व्यवस्त नेत्रहीनले राष्ट्रियरुपमै योगदान गरिरहेको बताए ।
प्रतिक्रिया