सिन्धुपाल्चोक, २६ फागुन । भूइँचालोले घर भत्काएपछि जस्ताको टहरामा आश्रय लिइरहेका जिल्लाको विकट गाउँ गुम्बा–७ का कृष्ण तामाङलाई अहिले हुरीको चिन्ता छ । कुनै पनि बेला हुरी आएर जस्ताको टहरा उडाइदिने भयले उनलाई सताएको छ । नयाँ घर बनाउन आर्थिक अभावका साथै सरकारी ढिलासुस्ती बाधक बनेकाले उनले आफ्नो परिवारलाई ढुक्कसँग राख्न सकेका छैनन् ।
‘फेरि ढुंगामाटाकै घर बनाउँ भने भुईंचालोले भत्काउला भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘पक्की घर बनाउन सक्ने औकात छैन ।’ उनी पुनर्निर्माणका लागि सरकारी राहत कुरिरहेका छन् । परिवार नै जस्ता र काठको टहरामा गुजारा गर्न बाध्य बनेको छ । अहिले हुरीको मौसम भएकाले जस्तालाई बचाउन उनलाई हम्मे परेको हो ।
‘दुःखजिलो गरेर नयाँ घर बनाउँ भने सरकारले दिने राहतको पैसा नपाइएला भन्ने डर छ,’ तामाङले समस्या सुनाउँदै भने, ‘यही टहरामा बसिरहँदा हुरी आएर जस्ता उडाउला भन्ने समस्या छ ।’ उनले हुरीले जस्ता उडाएर त्यसैले काट्ला भन्ने पिर रहेको सुनाए । भुइँचालोले घर भत्काएको वर्षदिन पुग्न लाग्दासमेत सरकारी बेवास्ताका कारण गाउँवासी समस्यामा परेका छन् । विभिन्न सञ्चारमाध्यमबाट अब भूकम्पप्रतिरोधी घर बनाउनुपर्ने जानकारी पाएका गाउँवासी कस्तो र कसरी नयाँ घर बनाउने भन्ने अन्योलमा छन् ।
‘नक्सा पास गरेर घर बनाउनुपर्छ भन्ने सुनेको छु, के गर्ने, गर्ने,’ हिमाली गाउँ गोल्चे–९का पासाङ शेर्पा भन्छन्, ‘यही भएको टहरा पनि हुरीले उडाएर बिजोग पार्ला भन्ने डर भइसक्यो ।’
भूइँचालोबाट घर गुमाएका गाउँवासी अहिले सबै बारीको पाटा तथा सार्वजनिक फराकिलो जग्गामा बसेका छन् । कतिपय अझै पाललाई बारेर तथा टेण्टमा बसेर गुजारा गरिरहेका छन् । अधिकांश जस्ताको टहरामा आश्रय लिइरहेका छन् । ‘मध्यदिनदेखि बेतोडले हुरी चल्ने गर्छ,’ गुम्बाका कृष्णले थपे, ‘बाहिर निस्केर बसेमा टहराको जस्ता उडाएर शरीर काट्ला भन्ने डर ।’ उनले दिनहुँजसो जस्तामाथि काठ तथा ढुंगाहरू थप्ने गरेको सुनाए । उनी बस्दै गरेको छानो जस्ताले छाइएको छ । पर्खालको रूपमासमेत जस्ताकै प्रयोग गरिएको छ । ‘हुरी आएपछि समय कटाउन साह्रै सकस हुँदो रहेछ,’ उनी भन्छन् ।
सरकारले पुननिर्माणका लागि गाउँतहसम्म पहल नगर्दा भूकम्पपीडित समस्या परेका हुन् । जस्तालाई ओत बनाएर बसेका गाउँबासी हरेक दिन सम्भावित आउन सक्ने हुरीबाट त्रसित छन् । हुरीबाट बच्नका लागि दैनिक नयाँ शैली अपनाउन बाध्य बनेको गाउँवासीको भनाइ छ ।
‘ढुंगा, काठले थिच्दा पनि हुँदै, फेरि सरिहाल्छ,’ गोल्चेका शेर्पा भन्छन्, ‘तारले बाँध्दासमेत नहुँदोरहेछ ।’ उनले छिट्टै घर बनाउन सरकारले पहल गर्नुपर्ने बताए ।
भुइँचालोले सर्वाधिक मानवीय र भौतिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा ९५ प्रतिशत घरमा पूर्ण क्षति पुगेको जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांक छ । यी मध्येबाट पनि झन्डै ९५ प्रतिशत सिन्धुवासी अहिले जस्ताको टहरा, पाल र टेन्टमा आश्रय लिइरहेका छन् ।
प्रतिक्रिया