‘एक मधेस प्रदेशबाट मधेसी मोर्चा पछि नहट्ने’

काठमाडौं, १५ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनले प्रस्ताव गरेको मधेसका दुई राज्यलाई एउटै बनाउन माग गरेको छ । मोर्चाले एमाओवादीले प्रस्ताव गरेको दुई मधेसको धारणालाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ ।
मधेसी मोर्चाको आज राजधानीमा बसेको बैठकले एक मधेस प्रदेशको मागलाई कार्यान्वनय गर्ने निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले भने, ‘राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको प्रतिवेदनमा सामान्य संशोधन गरेर एक मधेस प्रदेशको माग पुरा गराउने निर्णय भएको छ ।’
मधेसलाई दुई प्रदेश बनाउने आयोगको प्रतिवेदन र एमाओवादीको अर्को नयाँ प्रस्तावको बिरोध जनाएको मधेसी मोर्चाले एक मधेस प्रदेशको मागबाट पछि नहट्ने निष्कर्ष समेत निकालेको छ ।
एमाओवादीले प्रस्ताव गरेको राज्य पुनर्संरचना सम्बन्धी प्रस्तावमा रहेको संख्यालाई भन्दापनि मधेस टुक्राउने गरेर ल्याएकोमा मधेसी मोर्चाको अपात्ति रहेको सहअध्यक्ष कर्णको भनाई छ ।
उनले भने, ‘संघीय राज्यको संख्यामा हाम्रो कुनै पनि विमती छैन, तर एमाओवादीको दुई मधेस बनाउने प्रस्तावमा सहमति हुन सक्दैन ।’
एमाओवादीले दस नयाँ प्रस्ताव सहित संघीय राज्यको संख्या तोकेपछि मधेसी मोर्चा त्यस बिषयमा आन्तरिक छलफलमा जुटेको हो ।

प्रतिक्रिया