पोखरा, २१ फागुन । श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघ कास्की शाखाको बहुउद्देश्यीय सुविधा सम्पन्न पक्की भवन १ करोड ४५ लाख ७१ हजार ३ सय १५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । नेपाल सरकार, स्थानीय निकाय, औद्योगिक प्रतिष्ठान, पोख्रेली विभिन्न संघसंस्था, उद्योगी व्यवसायी एवं व्यक्तिबाट संकलित आर्थिक सहयोगबाट भवन निर्माण गरिएको हो ।
भवनको ३ सय क्षमताको सभाहलसहित पोसाक परिवर्तन कक्ष, महासंघको कार्यालय, तालिम, बैठक, प्रशासनिक कक्ष, सूचना केन्द्रसहितका छुट्टाछुट्टै ५ कक्ष रहेको शाखा अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार भवन निर्माणका लागि सूचना तथा सञ्चार मन्त्रालयबाट १४ लाख रुपैयाँ, पोखरा उपमहानगरपालिकाबाट ३५ लाख ५२ हजार रुपैयाँ, लक्ष्मी हाउस पोखराबाट १६ लाख ५१ हजार १ सय ५१ रुपैयाँ, जिल्ला विकास समिति कास्कीबाट ५ लाख २५ हजार रुपैयाँ र लेखनाथ नगरपालिकाबाट ५ लाख ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । त्यसैगरी छुनुमुनु मिडिया हाउसबाट ३ लाख ५ हजार, सहारा क्लब पोखरा युके हङकङबाट ३ लाख, पत्रकार राजु भण्डारीबाट ३ लाख, जगदम्बिका सिग्देलबाट ३ लाख र उद्योगपति सूर्यबहादुर केसीबाट २ लाख २५ हजार रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए ।
भवन निर्माणका लागि हालसम्म ५ सयभन्दा बढी विभिन्न संघसंस्था र व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो ।
५ वर्षअघि पत्रकारबाटै ३ लाख ५० हजार रुपैयाँ संकलन गरेर निर्माण कार्य सुरु गरिएको सो भवन निर्माणका लागि कास्की जिल्लाबाट प्रत्यक्ष एवं समानुपातिकतर्पmबाट निर्वाचित सभासद्ले संसद् विकास कोषमार्पmत ९ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि हालसम्म ४ लाख रुपैयाँ मात्र प्राप्त भएको शाखा सचिव त्रिभुवन पौडेलले बताए ।
पोखरा उपत्यका नगर विकास समितिले पोखरा–७ ढाँडमा उपलब्ध गराएको डेढ रोपनी जग्गामा सो भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको अग्रस्थानमा पोखराका पहिलो पत्रकार चित्राङ सिग्देलको अर्धकदको सालिक, शिलालेख, गार्डेन र पार्किङस्थल निर्माण गरिएको छ ।
सञ्चारमाध्यमको मोफसलको राजधानीको रूपमा विकसित पोखरा उपत्यकामा हाल १२ वटा दैनिक पत्रिका, डेढ दर्जनभन्दा बढी एफएम रेडियो ४ वटा स्थानीय टेलिभिजन र अन्य साप्ताहिक तथा अर्ध–मासिक एवं मासिक पत्रिका प्रकाशन तथा प्रसारण हुँदै आएका छन् । महासंघको कास्की शाखामा हाल ३ सय जनाभन्दा बढी सदस्य आबद्ध रहेका छन् ।
प्रतिक्रिया