हलिउडका होइन, जनताका नायक

sushil koirala copyकाठमाडौं । हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तिम तयारीका बेला नेपाली राजनीतिले ‘यु टर्न’ गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो, सुशील कोइरालाको । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले ०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती व्यवस्था लादेपछि कोइरालाको हलिउडको नायक बन्ने सपना अधुरै रह्यो । नयाँ बाटो पो तय भो– जनताको नायक बन्ने ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, लोकान्त्रिक मूल्य र मान्यताका प्रतिमूर्ति कोइराला जसले, लामो राजनीतिक जीवनमा आफ्नो अनुपम उदाहरणीय छवि बनाए, राजनीतिक यात्राका क्रममा । निर्वासन, जेल र विमान अपहरणका आरोह अवरोह कोइरालाका यात्रालाई कुनै विचलन ल्याएन ।

संविधानसभाबाट संविधान बनाउने ६ दशकभन्दा लामो नेपाली जनताको सपना साकार पार्न कोइरालाको अथक योगदान रह्यो । उनकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । ०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन र ०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनपछि चारजना प्रधानमन्त्री बने तर संविधान जारी गर्ने सौभाग्य कोइरालाले पाए । यसले कोइरालाको राजनीतिक उचाइलाई थप उँचो बनायो । गणतन्त्र नेपालको छैटौँ प्रधानमन्त्री बनेका कोइरालालाको ०७२ माघ २५ मा राती १२ः५० बजे आफ्नै निवास महाराजगञ्जमा ज्वरो र निमोनियाका कारण निधन भएको थियो ।

पार्टीको सर्वोच्च पद सभापति र मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री हुँदासमेत कोइरालालाई कुनै लाभ र लालसका आकांक्षाले छोएन । बरु कोइरालाले नेपालको राजनीतिका नेतृत्वलाई असल चरित्रको नमुना प्रदर्शन गरेर सबैको प्रशंसा हासिल गरे । कोइरालाको देहावसनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट उहाँको सादगी, निष्ठापूर्ण राजनीतिक योगदान र उदाहरणीय व्यक्तित्वका रूपमा मुक्त कण्ठले प्रशंसा हुन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै उहाँको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । प्रधानमन्त्री ओलीले स्व. कोइरालालले निरंकुशताविरुद्ध लोकतन्त्रको स्थापनाका साथै संविधान निर्माणका लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गरेका छन् । ‘सहमति, सहकार्य र एकताका अगुवा कोइरालाले संविधानसभाबाट संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेखेका थिए । संविधानको सफल कार्यान्वयनमा उनको अभाव खड्कनेछ’, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको भनाइ छ ।

कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहेको बताएका छन् ।

कोइरालाको निधनप्रति समवेदना सन्देश दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालको राजनीतिमा लामो समय सेवा गरेका कोइरालाको निधनबाट नेपाली कांग्रेसले शीर्ष नेता र भारतले असलमित्र गुमाएको’ बताएका छन् । उनले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गरेका छन् । मंगलबार काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्व. कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्व. कोइराला सादा जीवन र उच्च विचारका एक सच्चा र इमान्दार नेता भएको बताएकी छन् ।त्यस्तै चीनका विदेशमन्त्री वाङ्चीले पनि समवेदना सन्देश पठाई स्व. कोइराला एक सादगी, लगनशील र सफल राजनीतिज्ञ भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघका महासचवि बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै ‘उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो’ भनका छन् । महासचिवका तर्फबाट उनका प्रवक्ताले बुधबार जारी गरेको वक्तव्यमा महासचिव बानले ‘जटिल संक्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको’ बताएका छन् ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही कोइराला कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो ।

राजनीतिका क्रममा डेढदशक निर्वासन जीवन व्यतित गरेका कोइरालाले जीवनका अनेकौ हन्डर खाए । उनले ६ वर्ष जेल जीवन बिताएका थिए । निर्वासनपछि ०३६ सालको जनमत संग्रह र ०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो । बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी ०७ सालको जहानियाँ राणाशासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए ।

०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला ०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका थिए । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसादजस्ता नेतासँग निकट रही काम गरेका थिए । कोइरालाले पत्रकार (‘तरुण’ पत्रिकाको सम्पादक) का रूपमा पनि काम  गरेका थिए ।

प्रतिक्रिया