जनकपुरधाम । ‘चेतना बढ्दै गइरहेको छ, जनता युद्धमा होमिसकेका छन्, मेरो सपना साकार हुने क्षण अब टाढा छैन ।’ यो आत्मविश्वासको एउटा यस्तो प्रसङ्ग हो जसलाई हृदयमा साँचेर राख्दै प्रतीक्षारत छिन्, एक महिला ।
अन्ततः त्यो क्षण पनि आयो तर ती महिलाले साँचेर राखेको श्रीमान्को सपनाको महल जनस्तरमा अहिले पनि निर्माण हुन नसकेकामा असन्तुष्टिको पोको बाँधेर राखेकी छिन् । प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाले भन्थे, ‘माटो रगताम्य हुन्छ तर एक दिन गणतन्त्र अवश्य आउँछ ।’ झाका श्रीमती काशीदेवी श्रीमान्को उक्त सपनालाई साकार तुल्याउन जनस्तरमा यसको अनुभूतिको वातावरण अहिले पनि नभएकामा चिन्ता व्यक्त गर्छिन् ।
झालाई गोली हानेर हत्या गरिएपछि वर्षौंसम्म उनी एउटा सुगालाई प्रतीकात्मक श्रीमान् झँै माया गर्दै बसिन् । अन्ततः त्यसले पनि काल गति पाएछ । झाको हत्यापछि यस क्षेत्रमा गणतन्त्रको सपनालाई साकार तुल्याउन शिवचन्द्र मिश्र, लक्ष्मीनारायण मिश्र र यदुकोहा आन्दोलनमा प्राण उत्सर्ग गर्नेको लामो सूची छ । तर त्यसलाई ज्ञात, अज्ञातमा सीमित गरी श्रद्धाञ्जलिमा रमिते बनाइएकामा काशीदेवीलाई प्रश्न गर्न मन लाग्छ– ‘प्राणाहुतिको कदर कहिले होला ?’
भनिन्छ, सहिदको रगतको थोपाले सहिद जन्माउँछ । विसं १९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको १५ महिनापछि जटही गाउँमा दुर्गानन्दको जन्म भएको थियो । बाल्यकालदेखि नै पृथक स्वभावका झा भारतको उमगाउँमा पढ्दै गर्दा राजा महेन्द्रले वि.सं २०१७ पुस १ गते संसद् र संसदीय सरकार विघटन गरेकोे घटनापछि आक्रोशित भई उनले प्रजातन्त्रका हत्यारालाई चैनसित बाँच्न नदिने प्रतिज्ञा गरेका थिए ।
झाले प्रतिज्ञालाई मूर्त रुप दिन विसं २०१८ माघ ९ गते राजा महेन्द्र जनकपुर आउँदा राजा चढेको गाडीमा बम प्रहार गरेका थिए । सो गाडी हाल हनुमान ढोकामा विशेष सुरक्षा दिएर राखिएको छ । बमकाण्डपछि झा सिमाना पारि गई बस्दा जनकपुुर बमकाण्डको नाममा ५९ जनालाई पक्राउ गरी यातना दिइएको खबर पाउँदा सहन नसकेर २०१८ साल वैशाखमा नेपाल फर्के ।
प्रहरीले परवाहामा झालाई घेरामा हालेर जलेश्वर जेलमा राखे र भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौँ पु¥याई सुन्धारास्थित केन्द्रीय कारागारमा कोचिदिए । राजा महेन्द्रबाट मुलुकी ऐनमा संशोधन गराई ब्राह्मण झालाई मृत्युदण्डको सजायको व्यवस्था गराई १९९७ माघ १५ गते सहिद सप्ताह मनाइरहेको बेला हत्या गरियो । काशीदेवी त्यस दिनलाई स्मरण गर्दै भन्छिन्, ‘गर्भवती थिएँ । केही दिनपछि छोरी पाएँ तर ऊ पनि धेरै दिन बाँचिनन् । सर्वश्वहरण गरियो । मेरो संसार नै समाप्त भयो ।’
कष्टपूर्ण जीवनका क्षण तराई मधेस लोकतान्त्रिक पार्टीले सभासद् बनायो तर शासकीय विकृतिले दुर्गानन्दको सपनालाई जनस्तरसम्म लैजान नसकेकामा दुःख लागेको पनि उनी गुनासो गर्छिन् । उनी भन्छिन्, ‘गणतन्त्र आएको आठ वर्ष भइसक्यो, दुर्गानन्दको नाममा न स्मारक न संस्थाको निर्माण हुन सकेको छ । विसं २०६६ असार २९ मा प्रस्तुत बजेटमा दुर्गानन्दको स्मृतिमा जटहीमा दस श्ययाको अस्पताल निर्माण गर्ने घोषणा भए पनि आजसम्म निर्माण हुन सकेको छैन । (रासस)
प्रतिक्रिया