धनकुटा २५ पुस । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह बाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । बाङ्देलको ९१ औँ जन्मजयन्तीको अवसरमा शनिबार धनकुटामा एक कार्यक्रमको अयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले १० हजार १ रुपियाँ नगद राशीको उक्त पुरस्कार घिमिरेलाई प्रदान गरेका थिए । मदन पुरस्कार विजेता सहित्यकार घिमिरेलाई पुरस्कृत गर्न भारतको कोलकत्तादेखि प्रतिष्ठानको टोली धनकुटा आइपुगेको हो । यसअघि उक्त पुरस्कार दार्जिलिङका राजनारायण प्रधानलाई प्रदान गरिएको थियो ।
पुरस्कृत भएपछि साहित्यकार घिमिरेले लिखित मन्तब्यमार्फत साहित्यमा आफूले सबैभन्दा मन पराएका थोरै व्यक्तिमध्येका बाङ्देलको स्मृतिमा स्थापित पुरस्कार पाउँदा खुसी लागेको उल्लेख गरिन् ।
नेपाल र भारतको संस्कृति, कला र साहित्यको सुसम्बन्ध कायम रहँदै आएकाले यसलाई जीवन्त राख्न सबै जुट्नु पर्नेमा उनको जोड थियो । धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर भएकी साहित्यकार घिमिरे शारीरिक रुपमा असक्त भएर पनि खुट्टाको सहायताले साहित्य सृजना गर्दै आएकी छन् । बोल्नसमेत नसक्ने घिमिरेले कार्यक्रममा पनि खुट्टाले नै मन्तव्य लेखेर पढ्न लगाएकी थिइन् ।
कार्यक्रममा लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठानका अध्यक्ष प्रधानले भारतको कलकत्ता र नेपाललाई साहित्यिक कर्मथलो बनाएका बाङ्देलको स्मृतिमा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष नेपाल र भारतमा साहित्य र कला क्षेत्रमा विशिष्ठ योगदान पु¥याउँनेलाई प्रदान गर्दै लगिने बताए । नेपाल र भारतको साहित्यिकपुलको रुपमा संस्थाले साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उनले भनाइ छ ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार धर्मराज बराल, सहसचिव संजिव गुरुङलगायतले घिमिरेलाई सस्थाले पुरस्कृत गर्न पाउँदा खुसी लागेको धारणा व्यक्त गरे ।
कार्यक्रममा पुनरावेदन अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, झमक घिमिरे साहित्यकला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, धनकुटा बहुमुखी क्याम्पसका सहप्राध्यापक गोपाल अधिकारी, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीलगायतले पुरस्कृत घिमिरेलाई बधाई ज्ञापन गरेका थिए ।
सो अवसरमा गायिका जुनु गौतमसहित प्रमुख जिल्ला अधिकारी एवं गायक बिजयनारायण मानन्धरलगायतले गीतमार्फत कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए ।
प्रतिक्रिया