काठमाडौं, २२ पुस । एक समयका चल्तिका नायक राजेश हमाल र शिव श्रेष्ठले बर्षौपछि सँगै काम गरेको पछिल्लो फिल्म हो, ‘बागमती’ । हमाल र शिवले निर्माण युनिटसँगै बसेर फिल्म पनि हेर्न भ्याए । ‘दक्षिण भारतीय प्रविधि जोडिएको फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता मेटिएको छ,’ फिल्म हेरिसकेपछि दुबैजनाले निकै उत्साहित देखिँदै भने, ‘राष्ट्रिय महत्वको विषय बोकेको बागमती नदी सरसफाइसँग समेत जोडिएको यो फिल्म ऐतिहासिक बनेको छ ।’
फिल्मको प्रचारमा त्यति साह्रै साथ नदिने हमाल भने फिल्म बागमतीको लागि मरिमेटेर लागि परेका छन् । फिल्म प्रचारको लागि उनी सुटिङ रोकेर पनि लागिपरेका छन् ।
त्यस्तै ‘एक्सन किङ’को रूपमा परिचित अर्का अभिनेता शिवले महानायकको उपमा पाइसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै ‘सस्पेन्स’, ‘थ्रिलर’, ‘इमोशनल’ प्रकृतिको ‘बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मूल्यांकन गरिदिन आग्रह गरे । दुई दशक लामो फिल्म करियरमा पहिलोपटक खास निर्देशकसँग काम गरेको अनुभुति भएको नायक श्रेष्ठले बताए ।
एक सशक्त मनोरञ्जनात्मक फिल्म निर्माणको लागी कुनै कञ्जुस्याई बाँकी नगरेको भन्दै प्रस्तुतकर्ता बिजय सत्यालले अबको जिम्मा दर्शकको हातमा रहेको बताए । अनिष नापित फिल्मका कार्यकारी निर्माता हुन् । यशोधा राई, सुवर्ण महर्जनलगायतको फिल्ममा लगानी छ । फिल्ममा हमाल र शिवसँगै ध्रुब कोइराला, रविकर घिमिरे, कञ्चन ठकुरी, श्रेया कार्की, केकी अधिकारी लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया