राहतको चामलमा किरा पीडितहरू भोक भोकै

म्याग्दी, २ पुस । म्याग्दीमा ७ महिनादेखि थन्किएको राहत सामग्री वितरण गर्न ढिलाइ हुँदा चामलमा किरा पर्न थालेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिको बेवास्ताका कारण खाद्यान्न र लत्ताकपडालगायतका राहत सामग्री वितरण हुन नसक्दा किरा परेर नष्ट हुन लागेको हो ।

स्थानी जिविस र प्रशासनको गोदाममा रहेको चामल र दालमा किरा परेको छ । चामलमा घुन, चिल्सा र स–साना किरा देखिन थालेको बताइएको छ । वैशाख १२ गतेका भूकम्पपीडित र बर्षा मौसममा पहिरोपीडितलाई वितरणका लागि भनेर रूपन्देहीको राहत भण्डारण गृहबाट गत जेठमा २ चरणमा प्राप्त भएको राहत सामग्री अझै वितरण हुन सकेको छैन ।

हाल गोदाममा ५८ बन्डल त्रिपाल, १ हजार ६९० थान ब्लाङ्केट, १५० थान बेड कभर, ६०० थान कम्बल, ५० केजीको १३ बोरा दाल, १०२ बोरा चामल, ७ बोरा नुन, ३९ थान डसना र २ बोरा चिनी राखिएको छ ।

बढ्दो चिसो, महँगी र नाकाबन्दिले गर्दा बिहान बेलुका हातमुख जोर्न कठिनाइ भएको अवस्थामा सरकारी गोदाममा रहेका सामग्री कुहिन र सड्नु दुःखद भएको पीडितहरूले गुनासो गरेका छन् । ‘भूकम्पले चर्काएको घर बर्खामा पहिरोले लडायो । बारीमा गोठ बनाएर बसेका छौँ । बिहान के खाने बेलुका के खाने भन्ने चिन्ता छ’, ओखरबोट– ९ का पहिरोपीडित लालबहादुर विकले भने । ‘कुहाउनुभन्दा हामीलाई दिए राहत मिल्ने थियो ।’

हालसम्म ५६ बन्डल त्रिपालमात्रै पीडितलाई वितरण गरिएको छ । समयमै वितरण नहुँदा ३० कार्टुन बिस्कुट र ३ बोरा भुटेको चनाको म्याद सकिसकेको छ । ३ बोरा भेली खराब भएपछि नष्ट गरिएको थियो ।

बर्खायाममा पहिरोपीडितको व्यवस्थापनका लागि जगेडा राखिएको सामान बर्खा सकिएलगत्तै भएको नाकाबन्दीका कारण उत्पन्न ढुवानीको समस्या, भूकम्पपीडित परिचयपत्र वितरणमा ढिलाइ हुनुजस्ता कारणले पीडितलाई उपलब्ध गराउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले बताए ।

भूकम्पपीडित परिचयपत्र पाएकालाई १ हप्ताभित्र नै राहत सामग्री वितरण गरिसक्ने चोखालले बताए । म्याग्दीमा भूकम्पबाट २०० घर पूर्णरूपमा क्षति भएको र १ हजार ५०० मा आंशिक क्षति पुगेको तथ्यांक छ । यसैगरी बैसरी, ओखरबोट, मुनाको दर, मुदीलगायतका ठाउँमा ३०० बढी घरधुरी पहिरोपीडित छन् ।

प्रतिक्रिया