भारतमा वाइवाइको बजार विस्तार गरिने

काठमाडौं, २४ मंसिर । नेपालमा लोकप्रिय वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको चौधरी ग्रुपले आफ्नो उत्पादनलाई भारतभर विस्तार गर्ने भएको छ । हाल सीमा क्षेत्रको नाकाबन्दी हटेर दुई देशबीचको सम्बन्ध सुधार भएपछि आफ्नो योजनालाई मूर्तरूप दिने उसको तयारी छ । वाइवाइ ब्रान्ड भारतको पूर्व र उत्तरपूर्वमा पहिलेदेखि नै लोकप्रिय छ ।

विगत २० वर्षदेखि बिक्री भइरहेको यो चाउचाउले क्षेत्रीय बजारको ६० देखि ७० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले अब भारतभरी आफ्नो उत्पादन विस्तार गर्नका लागि भारतका चर्चित एडभर्टाइजिङ एक्जुकिटिभ प्रल्हाद कक्करलाई ब्रान्ड क्याम्पेनका लागि नियुक्त गरेको छ ।

स्थानीय रुचीलाई हेरेर कम्पनीले भारतका विभिन्न क्षेत्र र राज्यमा फरक स्वादका चाउचाउ बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ । उत्तरी भारतीय राज्य उत्तराखण्डको रुद्रपुर, पूर्वी राज्य बिहारको पुर्णियालगायत स्थानमा नौवटा कारखाना निर्माण गर्नेसमेत कम्पनी स्रोतले जनाएको छ ।

‘भारतका विभिन्न क्षेत्र तथा जातीय समूहलाई हेरेर स्थानीय रुचीका आधारमा हामी आफ्नो उत्पादन विस्तार गर्दैछौँ’ सिजी गु्रपका अध्यक्ष विनोद चौधरीले बताएका छन् ।

सिजी ग्रुपले सन् १९८४ देखि नेपालमा चाउचाउ उत्पादन गर्न थालेको हो । थाई प्रिजर्भड फुड फ्याक्ट्रीसितको सहकार्यमा उत्पादन सुरु गर्दा एक मिनेटमा १ सय २० प्याकेट उत्पादन गर्ने क्षमता थियो । अहिले यसले प्रत्येक वर्ष २५ हजार टन उत्पादन गर्ने सिजी ग्रुपको वेबसाइटमा उल्लेख छ ।

चौधरीका अनुसार स्विस फुडको लोकप्रिय म्यागी नुडल्सको बिक्रीमा प्रतिबन्ध लगाइएपछि चाउचाउको बजार प्रभावित बनेको चौधरी बताउँछन् । लिडको मात्रा अत्यधिक देखिएको भनेर भारतले लगाएको प्रतिवन्ध गत नोभेम्बरमा भारतले फुकुवा गरिसकेको छ ।

सिजी ग्रुपले आगामी ३ वर्षसम्ममा भारतीय बजारको ३० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको छ । अहिले पनि भारतको २० प्रतिशत बजार हिस्सा कम्पनीले ओगटेको दावी सिजीले गरिरहेको छ । यद्यपि, चौधरीले पश्चिम भारतमा ५ प्रतिशत मात्र उपस्थिति रहेको बताएका छन् । ‘

प्रतिक्रिया