पाँचथर, ४ मंसिर । जिल्ला प्रहरी कार्यालय फिदिमले जुवा खेल्दै गरेको बेला नियन्त्रणमा लिएका एकजनालाई अदालतले छाडेको छ । जुवा खेल्दै गरेको खालबाट कौडा र नगदसहित फिदिम नगरपालिका १ का खडगप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई फिदिम नगरपालिका २ पल्लोटारमा रहेको कांग्रेसका जिल्ला सचिव राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा पक्रिएको हो । जूवा खेलबाट पक्राउपरेका काफ्लेलाई प्रहरीले अदालतमा हाजिर गराएपछि अदालतले २ सय जरीमाना लिएर मंसिर ३ गते छाडेको डिएसपी कृष्ण प्रसाद कोईरालाले बताए ।
अन्य जुवाडेहरू कांग्रेस सचिव श्रेष्ठ सहित याङनाम घर भई फिदिममा बस्दै आएका राकेश थाम्सुहाङ, प्रेम थाम्सुहाङ, फिदिमकै अजित थापा र बरुण तुम्बापो फरार रहेको प्रहरीले जनाएको छ् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जुवाखालबाट १६ थान कौडा सहित २९ हजार ५ रूपैयाँ नगद बरामद गरको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
जुवाडेहरू विरुद्ध जुवा ऐन् २०२० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान समेत गरीएको उनले बताए । यो त एउटा जुवा सम्वन्धि प्रतिनिधिमूलक घटना मात्रै हो । दसैँ र तिहारमा फिदिम बजार क्षेत्रका होटलहरूमा खुलमखुल्ला जुवा खेलाएका थिए । तर प्रहरीले जुवातास खेल्ने र खेलाउनेलाई लक्षित गरेर अभियान नै सञ्चालन गरे पनि एक जना पनि जुवाडे पक्राउ गर्न सकेन ।
चाडबाडमा मात्रै नभई अन्य समयमा पनि फिदिमका केहिहोटल तथा घरमा व्यवसायीक रूपमै जुवा खेलाइने स्रोतले जनाएकोछ । जुवा खेल्न जिल्लाका प्रशासक देखि पार्टीका जिल्ला तहका शीर्ष नेताहरूको समेत संलग्नता रहने गर्दछ । प्रतिवन्धित खेल जुवा खेल्ने कार्यमा जिल्लाका केही प्रशासक देखि नेताहरूको पनि सहभागिता हुनुले मिलेमतोमा हुन्छ भन्ने प्रहरीको निष्कर्ष छ ।
फिदिम बजार आसपास क्षेत्रहरूमा तास नारेर जूवाखेल्ने गरीएको फिदिममा भने नौलो होईन । जूवाडेको नाम संचार क्षेत्रमा प्रकासन गरेको खण्डमा संचारकर्मीलाई धम्कीका शब्दहरू बजारमा सुन्ने गरेको एक संचारकर्मीको भनाई रहेको छ ।
प्रतिक्रिया