ताप्लेजुङ, ४ मंसिर । ताप्लेजुङमा गड्यौला मल उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । रासायनिक मलको प्रयोगले माटोको अम्लियपना बढाएको र उत्पादनमा समेत असर पारेको भन्दै तालिमको आयोजना गरिएको थियो ।
तालिममा अलैँची लगायतका नगदेबाली उत्पादनमा सुधार ल्याउन तथा स्वास्थ्यबर्दक बाली उत्पादन गर्ने गडयौला मल आवश्यक रहेको बताइएको छ । तालिमका प्रशिक्षक जीवन तामाङले माटोको उर्वराशक्ति जोगाईराख्न गड्यौला मल फाइदाजनक हुने बताएका छन् । भान्सा तथा घरबाट निस्किएका कुहिने वस्तु र खेतवारीमा भएका कुहिने झारपातको प्रयोग गरि यो मल तयार पार्न सकिने प्रशिक्षक तामाङले बताए । कुहिने पदार्थहरूलाई गड्यौलाको प्रयोग गरि अझ कुहाएर तयार पारिने मललाई गड्यौला मल भनिन्छ ।
यो मल उत्पादनको लागि किसानको खेतबारी तथा खेती क्षेत्रको आधारमा के कति परिमाणमा उत्पादन गर्ने भन्ने निर्धारण गर्न सकिने तामाङले जानकारी दिए । एक सामान्य किसानको लागि ३ मिटर लम्बाई, २ मिटर चौडाई तथा सवा मिटर उचाई भएको खाडल बनाएर यो मल उत्पादन गर्न सकिने बताइएको छ । खाडलमा मल बनाउन सुरु गरेपछि तयार हुनलाई डेढ महिनालाग्ने र मल लिन सुरु गर्नु पर्ने तामाङको भनाई छ ।
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घटाउनको साथै माटो विगार्ने र मानवीय स्वास्थ्यमा समेत असर गर्ने हुदा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु पर्ने तामाङले सुझाएका छन् । उनले सहर बजारबाट निस्किने कुहिने पदार्थलाई समेत प्रयोग गर्न सकिने र यसो गरेमा फोहोरमैलाको व्यवस्थापन गर्न सहयोग पुग्ने उनी बताउँछन् ।
गड्यौलाका प्रजाति तीन किसिमका हुने गरेता पनि इसेनीया फोएटिडा जातको गड्यौला मल उत्पादनको लागि राम्रो हुन्छ । यो जातको गड्यौला प्रति गोटा २ रूपैयामा किन्न पाइने र सामान्य किसानको लागि १ केजी गड्यौला प्रयाप्त हुने तामाङले जानकारी दिए । यो गड्यौलाको आयु २ वर्षको हुन्छ भने यसले ५ देखि ६ महिनामा अण्डा पार्न थाल्छ र पछि गड्यौलाको संख्या पनि तिन गुना सम्म पुग्छ । अन्य कम्पोष्ट मल भन्दा यो मलमा विरुवालाई चाहिने खाद्य तत्व धेरै हुने बताइएको छ ।
अलैचि खेतीको लागि यो तालिम प्रदान गरिए पनि करेसाबारी तथा अन्य खेतीकोलागि पनि यो मल राम्रो हुने आयोजक वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङद्धारा सञ्चालित हिमालिका परियोजनाले जनाएको छ । तालिममा परियोजनाको कार्यक्षेत्रका ४ महिला सहित २१ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागि सिकैचाका नेत्रप्रसाद पौडेलले किसानहरूको लागि यो तालिम प्रभावकारी भएको बताएका छन् । मानवीय स्वास्थ्यलाई समेत मध्यनजर गर्दै रासायनिक मलको प्रयोग छाडेर गड्यौला मलको उत्पादन र प्रयोगलाई जोड दिनसके फोहोरमैलाको उचित व्यवस्थापनमा टेवा पुग्दै अर्गानिक उत्पादनमा समेत सहयोग प्रशिक्षक तामाङले जानकारी दिए ।
प्रतिक्रिया