गौरमा सांसदलाई कालोे मोसो

रौतहट,४ मंसिर । नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण साहलाई मंसिर ३ गते साँझ गौरमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरूले कालो मोसो दलेर दुव्र्यवहार गरेका छन् । जिल्ला सदरमुकाम गौरमा रहेको संस्कृति एफएममा अन्र्तवार्ता दिएर बाहिर निस्केका सांसद साहलाई लुकेर बसेका मोर्चाका कार्यकताहरूले मोसो दलेका हुन् ।

एफएम परिसरमा लुकेर बसेका मोर्चाका नेताहरू अनिलकुमार सिंह, शेख जमसैद, राजकिशोर यादव, बवन सिंहलगायतले मोसो दलेका प्रत्यक्षदर्शीले बताएका छन् । साहले मधेसविरोधी संविधानमा हस्ताक्षर गरेको भन्दै मोसो दलिएको मोर्चाका नेता अनिलकुमार सिंहले बताए । मधेसविरोधी संविधानमा हस्ताक्षर गर्ने सभासदहरूलाई सामाजिक बहिष्कार गर्ने मोर्चाको निर्णयअनुसार उनलाई मोसो दलिएको सिंहले बताए । सांसदलाई मोसो दलिसकेपछि मोर्चाका कार्यकर्ताहरूले साह चढेको वा.५.प ३८४४ नं को पिकअप भ्यानसमेत तोडफोड गरेका थिए ।

घटनालगत्तै प्रहरी घटनास्थल पुगे पनि सांसदलाई आक्रमण गर्ने मोर्चाका नेताहरू भागिसकेकाले प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन सकेन । सांसद साहले भने मधेस आन्दोलनलाई बदनाम र कमजोर बनाउन आफूमाथि दुव्र्यवहार भएको प्रतिक्रिया दिएका छन् । सांसद साहको घर सर्लाहीमा छ ।

प्रतिक्रिया