ड्रोन क्यामेरा चलाउने पक्राउ

खोटाङ, २ मङ्सिर । खोटाङमा ड्रोन क्यामेरा प्रयोग गरेर  भिडियो खिच्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान धनपाल थापालाई प्रहरीले पक्राउ गरेको हो ।

म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत थापालाई सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार बिहान भिडियो खिच्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिएका छन् । प्रहरी नायब उपरिक्षक माझीले भने, ‘अनुमती नलिइ ड्रोन क्यामेरा प्रयोग गर्न पाइदैन, थापाले बिनाअनुमती खिचिरहेको भेटेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ । थापाको साथमा रहेको ड्रोन क्यामेरा, क्यामेराको स्ट्याण्ड, रिमोट, मोवाइल लगायतका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौंबाट मङ्गलबार दिक्तेल आएका थापा जिल्लाको पश्चिमी गाविस नुनथलास्थित जालपा माविमा भूकम्पले पु¥याएको क्षतिको भिडियो खिच्न आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका थापालाई कुन मुद्दा चलाउने भन्ने बारेमा भने यकिन नभएको प्रहरीले जनायो ।

प्रतिक्रिया