महोत्तरी, २ मंसिर । महोत्तरीको गैंडाभेटपुरमा अज्ञात समूहले बुधबार राती तीनवटा मोटरसाईकलमा आगजनी गरेका छन् । नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने उक्त स्थानमा तीनवटा मोटरसाईकलमा आगजनी गरेका हुन् ।
गाउँदेखि टाढा एकान्त ठाउँमा तीन वटा मोटरसाईकल जलेको अबस्थामा फेला परेको भएपनि मोटरसाईकल धनी र मोटरसाईकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाईकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राती नै घटनास्थलमा पुगेको थियो । तर, रातीको समयमा घटना स्थलमा कोही फेला नपरेकाले घटनाको विषयमा थप जानकारी प्राप्त हुन नसकेको प्रहरी उपरिक्षक भट्टराईको भनाई छ । भारतबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गर्दा मोटरसाईकलमा आगजनी भएको हुन सक्ने प्रहरीको अनुमान छ । भारतीय नाकाबन्दी शुरु भए पछि गैंडाभेटपुर नजिकको सम्सी नाका हुँदै भारतीय बजारबाट मोटरसाईकल र साईकलमा पेट्रोलियम पदार्थ लुकाइ छिपाइ ल्याउने क्रम वढेको छ ।
प्रतिक्रिया