एचआइभी संक्रमितलाई रकम

नुवाकोट, २३ कात्तिक । एचआइभी संक्रमितहरुले समेत जीविको पार्जन गर्न सहयोग पुगोस् भन्दै त्रिशूली प्लसले आर्थिक सहयोग प्रदान गरेको छ ।  नुवाकोट  र रसुवाका ३५ जनालाई आयआर्जन र जीविकोपार्जनका लागि भन्दै जनही १५ हजार रुपैंयाँका दरले रकम प्रदान गरेको हो ।

संस्थाले जिल्लामा ग्लोबल फन्डको आर्थिक सहयोग र सेभ द चिल्ड्रेन, एनएपिएनको साझेदारीमा एचआइभी संक्रमितलाई लक्ष्य गरी गत असारदेखि कात्तिक मसान्तसम्मका लागि आकस्मिक सहयोग कार्यक्रम सञ्चालन गरेको थियो ।

संस्थाले सोही कार्यक्रम अन्तर्गत आइतबार नुवाकोटका ३५ र रसुवाका दुई जना संक्रमितलाई नगद सहयोग गरेको संस्थाका राजकुमार श्रेष्ठले जनाएका छन् । नुवाकोटका चार सय ५८  एचआइभी र एड्स संक्रमितको पहिचान भएको तथ्यांक रहे पनि त्रिशूली प्लसको नियमित सम्पर्कमा दुई सय जना मात्र छन् ।
यस्तै सो अवधिमा नुवाकोटका एक सय पाँच र रसुवाका ४० जनालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ ।

संस्थाले सोही कार्यक्रम अन्र्तगत जिल्लाका तीन स्थानमा निःशुल्क स्वास्थ्य उपचार शिविर समेत सम्पन्न गरेको छ । रातमाटे गाविसमा सञ्चालन भएको निःशुल्क शिविरमा एक सय २१, विदुर नगरपालिकाको इनारपाटीमा एक सय २०, विदुरमा सञ्चालित शिविरमा एक सय १० जनासहित रसुवाको धैबुङ कालिकास्थानमा सञ्चालन भएको शिविरमा एक सयभन्दा धेरैले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरमा आएकालाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया