नुवाकोट, २३ कात्तिक । संयुक्त राज्य अमेरिका, एरिजेना युटाहका मार्क फिस्टर र किम फिस्टरले नुवाकोटको ककनीमा अस्थायी घर बनाउन थालेका छन् । भूकम्पबाट नेपालमा धेरै धनजनको क्षति भएको थाहा पाएपछि नै नेपाल आएर केही सहयोग गराँै भन्ने भावना जागेको बताउने यी विदेशी भूकम्प पीडितहरुलाई अस्थायी वसोवासकालागी घर बनाउन थालेका हुन् ।
कम्प्युटर सफ्टवेयर इन्जिनियर मार्क र पूर्व शिक्षिका किमले अहिले भूकम्प प्रभावित नुवाकोट ककनी गाविस हिले गाउँमा अस्थायी घर र विद्यालय निर्माण गरिरहेका छन् । भूकम्प जाने बित्तिकै धेरै घर भत्केको र पीडितका लागि घर पहिलो आवश्यकता भएको उनीहरूको ठम्याइ थियो । त्यही भएर घर निर्माण नै उनीहरुको पहिलो रोजाइमा प¥यो । ‘विकट गाउँमा अस्थायी घर निर्माणमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ, पर्यटन र सहयोगमा सहभागी हुन पाउँदा खुसी छौं ।’ उनीहरुले भने । फिस्टर र किम एक आपसमा दाम्पत्य जीवनमा रहेका छन् । उनीहरुले दुईहप्ते सगरमाथा पदयात्राबाट फर्केपछि श्रम सहयोगमा जुटेको जनाए ।
श्रीमान्सँग कतारमा रहेकी अमेरिकाकी सेरी केन्लीलाई दोहामा धेरै नेपाली चिन्ने मौका पाएको र उनीहरूलाई भूकम्पले दुःख दिएको सुन्दा नमज्जा लागेको थियो । ‘त्यसैले केही न केही सहयोग गर्ने चाहनाअनुरुप यहाँ आइपुगेँ,’ अस्थायी घर निर्माणमा जुटीरहेकी अर्की केन्लीले थपिन् । डेढ दशकदेखि चिकित्सा सेवामा रहेकी लउरेन जेफरिस पनि बाँस, टिन बोक्दै र किला ठोक्दै घर बनाउने काममा खटिएकी छिन् । ‘स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण पनि गर्नेछु र थोरै भए पनि घर बनाउने काममा जुटेकी छु,’ यसपछि दुईहप्ते अन्नपूर्ण पदयात्रा गर्ने सोचमा रहेकी उनले भनिन् ।
अमेरिकी क्यानोनियनिङ एकेडेमीमा आबद्ध दश जना अमेरिकी अहिले ककनी हिले गाउँमा अस्थायी घर र विद्यालय निर्माणमा जुटेका छन् । एकेडेमीका संस्थापक वरिष्ठ क्यानोनिङ प्रशिक्षक रिच कार्लसनले क्यानोनिङमा रुचि राख्ने अमेरिकी समुदायमा भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने गरी छलफल चलाएपछि सो समुह ककनी आइपुगेको हो ।
‘केही विद्यालय सामग्री, बल, लुगाजस्ता सामग्री पनि ल्याएका छाँै, विभिन्न क्षेत्रका पीडितलाई करिब चार हजार अमेरिकन डलर पनि सहयोग ग¥यौँ,’ अर्का पर्यटक कार्लसनले भने । डरलाग्दा भिरबाट खस्ने झरनामा डोरी बाँधेर खेलिने साहसिक पर्यटनका रूपमा परिचित क्यानोनिङ खेलका लागि प्रशिक्षण दिन उनी वर्षैपिच्छे नेपालमा आउने गरेको पनि उनले बताए ।
अमेरिकी क्यानोनिङको सो समुहले हिले गाउँमा दश दिन बसेर बाँस, टिन, काठको घर एवम् स्थानीय गोर्वासी निमाविको आठकोठे भवन निर्माणमा श्रम गर्नेछ । सुखवती संस्थाले २० लाख रुपियाँमा सो विद्यालय बनाउन लागेको हो । ककनीमा १५ घर बनाउन सहयोग गरेका स्विट्जरल्यान्डका कास्पर ड्युरिजले सो क्षेत्रमा बनेका घर देखेर खुसी हुँदै थप सहयोग दिने बताएका छन् ।
फ्रेन्डस एड्भेन्चर टिम प्रालिका प्रबन्ध निर्देशक , हिमालय म्याप हाउसका निर्देशक पवन शाक्य, सुखवती संस्थाका उपाध्यक्ष चिजमान गुरुङ, कोरियामा विद्यावारिधिमा संलग्न शैलेन्द्र कार्कीलगायतले ककनी क्षेत्रका झन्डै सयभन्दा बढी अस्थायी घर निर्माण गर्न सहयोग विदेशी साथीमार्फत सहयोग जुटाएका छन् ।
अस्थायी घरको छाना बनाउन बाँस, टिन, किला, बनाउने मिस्त्री र अन्य केही सामग्रीसहित झन्डै १५ हजारभन्दा बढीको सामग्री सहयोग गरिएको र बाँकी स्थानीय व्यक्ति आफँैले काम गर्नुपर्ने हिमालय म्याप हाउसका निर्देशक शाक्यले जानकारी दिएका छन् ।
काठमाडौंबाट झन्डै ३८ किमी टाढाको तामाङ बस्तीको सो पिछडिएको बस्तीमा अस्थायी घर बनाउन सामग्री पाउँदा स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको ककनी जगरेका जितबहादुर लामाले बताए ।
प्रतिक्रिया