मोरङ, २१ कात्तिक । छिमेकी मुलुक भारतको उक्साहटमा मधेसी नेताहरुले उठाएको मधेसमा दुई प्रदेश कुनै हालतमा सम्भव नहुने एमाले केन्द्रीय पार्टी प्रचार विभाग प्रमुख एवम सचिव योगेश भट्टराईले ठोकुवा गरेका छन । नेकपा एमाले डाँगीहाट गाउँ कमिटिले मोरङले लक्ष्मीमार्गस्थित भानुभक्त इंग्लिस स्कुलमा शनिबार आयोजना गरेको चियापान तथा शुभकनमना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधानका बारेमा छलफल तथा शुभकामना आदान प्रदानका शिलसिलामा पुर्वको मोरङ पुगेका भट्टराई प्रेस चौतारी सुनसरीले इटहरीमा आयोजना गरेको शुभकामना आदान प्रदान समेत सहभागी भएका थिए । उनले संयुक्त मधेशी मोर्चाको माग नभएर भारतको माग भएको समेत आरोप लगाए । तत्कालिन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुदेखि इन्दिरा गान्धी हुँदै अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी समेतले नेपाललाई भारतमा विलय गराउने निरन्तरता भएको पनि उनले बताए । नेपालको संविधान प्रती असहमती जनाउने बहानामा भारतले नेपाललाइ टुक्रयाउने खेल खेलिरहेको उनले आरोप लगाएका छन् ।
यस्तै नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेसी मोर्चाले गरेको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । शनिबार बिहान धरानमा अग्रज पत्रकार गिरिराज आचार्यद्वारा लिखित महानायक गणेशमान नामक पुस्तकको लोकार्पण गर्दै सो कुरा बताएका हुन । उनले मधेसको समस्यालाई काँग्रेसले नजिकबाट नियाली रहेकाले त्यहाँको समस्यालाई पनि काँग्रेसले समाधानका लागि सक्रिय नेतृत्व गर्ने विश्वास दिलाए ।
गणेशमान सिंह फाउण्डेशन सुनसरीद्धारा आयोजित सो कार्यक्रममा महामन्त्री सिंहले संयुक्त मधेसी मोर्चाको नामबाट अहिले भइरहेको आन्दोलन र उत्पन्न समस्या मधेसी जनताले भोगिआएको समस्या समाधान गर्ने उद्देश्यले भन्दा पनि केही सामन्तवादी मधेसी नेताहरुले आफ्नो बर्चश्व स्थापित गराई राख्ने निहित स्वार्थले प्रेरित भएर गरिएकाले त्यसलाई मधेसमा बसोवास गर्ने सबै जनताले बुझ्न जरुरी रहेकोपनि प्रस्ट पारे ।
उनले नयाँ नेपालको निर्माण गर्ने महान उद्देश्यका साथ नेपाली जनताले नै जारी गरेको वर्तमान नयाँ नेपालको संविधानमा मधेसमा बसोवास गर्दै आएका विभिन्न जाति र समुदायको उन्नतिसँगै समान सहभागिताका लागि धेरै कुरा समेटिएको तर्फ ध्यानाकर्षण गराउदै संविधानलाई गहनरुपमा अध्ययन गर्न आग्रह गरका छन् ।
प्रतिक्रिया