काभ्रे, २१ कात्तिक । काभ्रेपलाञ्चोक च्यासिंखर्क–२ च्याल्टीका दुबै मृगौला पिडितको उपचारका लागि वैदेशिक रोजगारमा संलग्न नेपालीहरुले रकम पठाएका छन् । मृगौला पीडित मनोज कुमार रुम्बाको उपचारका लागि उनीहरुले संकलन गरेर पठाएको एक लाख १० हजार रुपैंयाँ रकम शनिबार बनेपामा पिडितलाई प्रदान गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका मनोजलाई सहयोगका लागि इजरायलबाट सनि योञ्जन, कुवेतबाट अस्मिता योञ्जन, मलेशियाबाट सोमबाहदुर मोक्तान र कतारबाट बिशाल तामाङको नेतृत्वमा आर्थिक संकलन गरिएको थियो । उक्त रकम मृगौला पिडत मनोज रुम्बालाई नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका सह–सचिव उजाड रक्तिम र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रिय सदस्य पेमा लामाले संयुक्तरुपमा प्रदान गरेका हुन् ।
नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङले विदेशमा पसिना बगाई कमाएर पठाएको पैसा सहि ठाउँमा सदुपयोग गर्नको लागि पिडितलाई आग्रह गरेका छन् । रुम्बाको विगत १८ महिना अघि देखि दुबै मृर्गौला फेर्नुपर्ने भएको छ । मृगौलामा समस्या देखिएपछि हाल धुलिखेल अस्पतालमा हप्ताको दुई पटक उनको मृगौलाको डाइलोसिस गर्दै आएको पिडितका श्रीमती सरिता रुम्बाले बताएकी छन् ।
‘श्रीमानको मृगौला प्रत्यारोपन अस्पताल भक्तपुरमा प्रत्यारोपण गर्ने तयारी गरिरहेको भएतापनि आर्थिक अवस्था कमजोर भएकाले ढिलाई भइरहेको उनले बताएका छन् । तिहारपछि अप्रेशन गर्न डाक्टरले सल्लाह दिएको उनले बताएकी छन् । मनोजका बुबा रिुद्रबहादुर रुम्बाले छोराको उपचारका लागि १५ लाखभन्दा बढी रकम आवश्यक पर्ने बताएका छन् ।
‘अस्पतालका डाक्टरले मेरो मृगौला हुन्छ भनेपछि दिने तयारी गरेको छु आर्थिक अवस्था कमजोर छ रकम जुटाउँदै छौँ’ उनले भने । आर्थिक अवस्था नाजुक भएको कारण मनोजलाई नयाँ जीवन दिन चाहनुहुने महानुभावहरुले ९८०३४९२३२६ फोन गर्न र ०८१४२८७२४६५२४००१ खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गर्न समेत पिडितले आग्रह गरेका छन् ।
प्रतिक्रिया