थुनुवालाई प्रशिक्षण

इलाम, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय इलामले हिरासतमा रहेका थुनुवाहरुका लागि जनचेतना मूलक विशेष  कार्यक्रम सुरु गरेको छ । विशेष कार्यक्रम अन्तर्गत विभिन्न अपराध सम्बन्धी अनुसन्धानको सिलसिलामा राखिएका थुनुवाहरुलाई साताको ३ दिन डेढ घण्टा ज्ञानवद्र्धक प्रवचन तथा प्रशिक्षण दिन थालिएको हो ।

प्रहरीले प्रत्येक आईतबार, मंगलबार र बिहिबार बिहान साढे ७ देखी ९ बजेसम्म योगा, आध्यत्मिक प्रवचन र प्रचलित फौजदारी कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण दिन थालेको प्रहरीले जनाएको छ । विभिन्न अपराध गरेको आरोपमा प्रहरी हिरासतमा रहेका बेला उनीहरुलाई जीवन दर्शन तथा ज्ञान प्रदान गर्नुका साथै देशका मुलभुत कानुन सम्बन्धी केही कुरा जान्न सजिलो होस् भनेर यो कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै प्रहरीले जनचेतना मुलक सन्देश समेटिएको अडियो तथा पर्चा पम्प्लेट मार्फत कानुनी सचेतना र अपराधीक कृयाकलाप बाट बच्न सकिने प्रयासको बारेमा प्रचार—प्रसार अभियान समेत थालेको छ । उसले चाडपर्वको नाममा हुनसक्ने विभिन्न किसिमका अवाञ्छित गतिविधी हुन नदिन तथा भइरहेको विकृति विसगंतीको नियन्त्रण गर्ने उद्देश्यले अभियान सुरु गरेको हो । कार्यालयले एरिया इलाका तथा मातहतको प्रत्येक टोल तथा वस्तीमा सामाजिक सद्भाव एंव प्रभावकारी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अडियो तथा पर्चा पम्प्लेटमार्फत सन्देश प्रवाह तीब्र पारिएको जनाएको छ ।

सचेतना कार्यक्रम अन्तर्गत धनजनको क्षति हुने विभिन्न क्रियाकलापमा संलग्न नहुन र सचेत रहन विभिन्न २२ बुँदे अपिल समेत जारी गरेको छ । अपिलमा विभिन्न पटका जस्ता विष्फोटक पर्दाथ नपड्काउन, आगोले भेट्ने गरी पेट्रोलियम पदार्थ संचित नगर्न, कुनै शंकास्पद् वस्तु भेटिए प्रहरीमा खबर गर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, चाडपर्व मनाउने क्रममा सभ्य तवरले मनाउन लगायतका सन्देशहरु समेटिएका छन् ।

प्रतिक्रिया