धनकुटा, २० कात्तिक । धनकुटा नगरपालिका–२ कागतेका एकजना क्यान्सरपीडितले खर्चको अभावमा आफ्नो उपचारम ा अफ्ठयारो परेको बताएका छन् । स्थानीय डेगबहादुर नेपालीले आर्थिक अभावमा आफ्नो उपचार हुन नसकेको गुनासो गर्दै उपचारमा सहयोग गरी ज्यान बचाइदिन अनुरोध गरेका हुन् ।
करिव चार वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ५७ वर्षीय नेपालीले उपचार गराउने क्रममा आफ्नो सबै पैसा खर्च भइसकेको भन्दै अव उपचार गर्न पैसा नभएर आफू मृत्युको मुखमा पुगेको दुखेसो पोखेका छन् । उनले आर्थिक सहयोगको अपिलका लागि पत्रकार महासंघको हलमा आयोजित पत्रकार सम्मेलनमा आँसु खसाल्दै भने, ‘अप्रेसन गर्ने पैसा नभएर मृत्युको मुखमा पुगेको छु हजुर, कसैको दयाले उपचारका लागि पैसाको जोहो भएदेखि बाँच्छु भन्ने आशा छ ।’
उनलाई डाक्टरले तत्काल अप्रेसनका लागि करिव एक लाख रुपियाँ जुटाउन भनेको बताउँदै त्यही पैसा नपुगेर आफू मृत्युको मुखमा पुगेको उनले गुनासो सुनाए । क्यान्सरपीडित नेपाली विपन्न, दलित र अपांगता भएका व्यक्ती हुन । उनी यसअघि धनकुटाको हिलेस्थित गुराँसे टि स्टेटमा चौकिदारको रूपमा काम गर्थे । त्यससँगै उनले धनकुटा बजारमा काठ, बाँसलगायत बेचेर जिबिको पार्जन गर्दै आएका थिए ।
गाडीमा खलासीको रूपमा काम गर्दा करिब १६ वर्षअघि जोगिमारामा भएको गाडी दुर्घटनामा उनले देब्रे खुट्टा गुमाएका छन् । अपांगता भएर पनि दुई बैसाखीको सहारामा छाक टार्नका लागि उनी परिश्रम गर्दै आएका थिए । तर, समस्यामाथि समस्या थपिदै घाँटीको हड्डीको क्यान्सर भएपछि अहिले उनको अवस्था दयनीय भएको छ । छोरी र श्रीमतीका साथ घरमा बस्दै आएका उनले यसअघि अप्रेसन गर्दा झण्डै पाँच लाख खर्च भइसकेको सुनाए । बाँकी रहेको तिन आना जग्गाको झुप्रो घर बेच्न बाहेक अरू विकल्प नभएको उनको भनाइ रहेको छ ।
घर बेचेर उपचार गर्दा परिवारको बिचल्ली हुने भन्दै उनले अब आफूसँग अरू कुनै विकल्प नहुँदा मृत्युको मुखमा पुगेको बताए । उनले सहयोग गरेर आफ्नो ज्यान बचाइदिन चाहनेहरूलाई सहयोगका लागि अपिल गरेका छन् । ईच्छुकलाई पीडित डेक बहादुर नेपालीकै नाममा कृषि विकास बैंक धनकुटामा रहेको खाता नम्बर ०४०६९२ मा रकम जम्मा गर्न पनि उनले अनुरोध गरेका छन् ।
प्रतिक्रिया