बुटवल, १९ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ईन्धन संकट हुँदा बुटवलमा इ–रिक्साको आकर्षण बढ्दो छ । इन्धन अभावमा विजुली बाट चार्ज गरेर चलाईने इ–रिक्साप्रति सर्वसाधरणको आर्कषण बढेको हो ।
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि बुटवलमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ । विद्युतले ई–रिक्सामा प्रयोग हुने व्याट्री चार्ज गरेर सञ्चालनमा रहेको ई–रिक्सा अहिले बुटवल बजारमा प्रयाप्त मात्रमा चलेको देख्न सकिन्छ । बातावरणमैत्री ई–रिक्सा सञ्चालन हुँदा चालकहरूलाई राम्रो आम्दानी पनि भैरहेको रिक्सा व्यवसायीहरूले बताएका छन् । बुटवलको मुख्य राजमार्ग तथा भित्रि सडकमा ई–रिक्सा सञ्चालन हुँदा जनता लाभाम्वित बनेका छन् । नगरक्षेत्रभित्र चल्ने रिक्साले प्रतिव्यक्ति २५ रूपैयाँ सम्म लिने गरेका छन् । ईन्धनको अभाव हुँदा कानुनी रूपमा दर्ता प्रक्रियामा रहेका ई–रिक्साहरू अहिले भने निर्वाध रूपमा चलिरहेका छन् ।
दर्ता प्रक्रिया र चालक अनुमति पत्र विना नै चलाइएको ई–रिक्सा ईन्धन संकटको बेला राहत दिएको सरोकारवाला निकायहरूले जनाएका छन् । यातायात व्ववस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले ई–रिक्सा सञ्चालन गर्न नदिनुको कारण सहित ई–रिक्सा सञ्चालन समितिले मुद्धा दर्ता गरेकाले अहिले यस बारेमा केही बोल्न नमिल्ने बताए । रिक्सा व्यवसायी समितिले जिल्ला प्रशासन कार्यालय रूपन्देही, पश्चिम नेपाल बस व्यवसायी संघ, यातायात विभाग, भौतिक पुर्वधार तथा यातायात मन्त्रालयलाई विपक्ष बनाएर ई–रिक्सा सञ्चालन गर्न नदिनुको कारण माग गर्दै सर्वोच्चमा मुद्धा राखेको छ । अहिले सो मुद्धा विचाराधिन अवस्थामा रहेको छ ।
शाखा अधिकृत हुमागाईले तेल संकटको अवस्थामा जनताले सुविधा पाएकाले तेल संकट कम भएपछि थप यस बारेमा छलफल गरेर अगाडि बढ्ने बताए ।
दुई वर्ष अगाडि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा विद्युतीय रिक्सा दुर्घटना हुँदा ४ जनाको ज्यान गएपछि ई–रिक्सा सञ्चालनमा खिचातानी बढ्दै गएको छ । फलस्वरूप पश्चिम नेपाल बस व्यवसायी संघले मुख खोलेरै ई–रिक्सा दर्ता नगर्नु भन्दै यातायात विभागलाई पत्र समेत काटेको थियो । लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघका महासचिव प्रेम थापा मगरका अनुसार अहिले ई–रिक्सा संघमा एक सय भन्दी बढी दर्ता भइसकेका छन् । थापाले आफूहरू सबै पक्षसँग छलफल गरेर विस्थापित÷स्थापितको अवधारणामा जान तयार रहेको बताए ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी प्रकाश अधिकारीले अर्को अञ्चलमा दर्ता भएका ई–रिक्सा पनि यहाँ सञ्चालन भएको बताए । उनले ईन्धन संकट पछि जिल्ला प्रशासन, बुटवल उपमहानगर पालिका, यातायात व्यवस्था कार्यालय र रिक्सा समिति सँग छलफल गरेर व्यवस्थित रूपमा ई–रिक्सा सञ्चालनका लागि अनुमति दिने बताए ।
उनले कति रिक्सा चल्ने दिने, कुन कुन क्षेत्रमा दिने र कति भाडामा लिने भन्ने बिषयमा छलफल गरिने बताए । ई–रिक्सा लाई रुट ईजाजतको विषयमा प्रशासन सँग छलफल गर्ने समेत उनको भनाई छ ।
ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । पेट्रोल डिजेलको प्रयोग नहुने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने भएकाले यसलाई वातावरणमैत्री रिक्सा पनि भने गरिएको छ ।
प्रतिक्रिया