राष्ट्रपतिलाई पत्रकारको बधाई

काठमाडौं १९ कात्तिक । गणतन्त्र स्थापना पछिको दोस्रो राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीलाई नेपाल पत्रकार महासंघले बधाइ दिएको छ । बधाइ ग्रहण गर्दै राष्ट्रपतिले इन्धन अभावले नेपाली जनताको दिनचर्यामा परेको प्रभावप्रति चिन्ता व्यक्त गरेकी छन् ।

बधाई दिन राष्ट्रपति कार्यालयमा पुगेको महासङ्घको टोलीसँग राष्ट्रपतिले अहिलेको संकटको अवस्थाबाट देशले छिटो समाधान पाउने विश्वास व्यक्त गरेकी छन् । इन्धन अभावले विद्यालयमा विद्यार्थीले पढ्न नपाउने, अस्पतालमा औषधि उपलब्ध नहुने जस्ता मानवीय समस्या देखापरेकोप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी हुन् ।

समस्या लम्बिन नदिन आवश्यक पहल गर्न आफूले बुधवार प्रधानमन्त्रीसँग कुरा गरेको राष्ट्रपति भण्डारीले जानकारी दिएकी छिन् । उनले सञ्चारकर्मीहरूलाई अहिलेको परीस्थितिमा जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न पनि आग्रह गरेकी थिइन् ।

महासङ्घका अध्यक्ष डा. महेन्द्र बिष्टले राष्ट्रपतिमा निर्वाचित भएकामा भण्डारीलाई बधाई दिँदै मुलुकमा देखिएको असहज अवस्थाको अन्त्यका लागि आवश्यक पहल गर्न राष्ट्रपतिको ध्यानकर्षण समेत गराएका थिए ।

प्रतिक्रिया