काठमाडौं, १८ कात्तिक । पाँच वर्ष लामो मुम्बइ बसाईपछि नेपाल फर्किएका अभिनेता निखिल उप्रेतीको मुखबाट अचेल राष्ट्रियता र फिल्म मोहका गफ खुबै सुन्न थालिएको छ ।
निखिलको नेपाल आगमनसँगै आफैँले निर्देशन गरेको फिल्म ‘भैरव’ लगायत आफैँले अभिनय गरेका फिल्महरूले सफलता हात पारिरहेको छ । फिल्मको प्रिमियर होस् या पत्रकारसँगको कुराकानी नै किन नहोस् नायक तथा निर्माता निखिल उप्रेती अचेल विदेशी फिल्म नेपालमा चलाउनु हँुदैन भन्दा पनि राम्रा फिल्म बनाएर चलाउन सके विदेशी फिल्म आफँै विस्थापित हुने कुरा गर्दै आएका छन् ।
उनले जहाँ पुगे पनि बोल्ने त्यही कुरा आफ्नै व्यवहारमा लागू हुन्छ कि हुँदैन उनलाई नेपाली दर्शकले पत्याउँछ कि पत्याउँदैन त्यो हेर्न भने २५ कात्तिक नै कुर्नुपर्ने हुन्छ । निखिल अभिनित फिल्म ‘लुटेरा’ र बलिउडका सुपरस्टार सलमान खान निर्मित÷अभिनित बलिउड फिल्म ‘प्रेम रतन धन पायो’ को तिहारको अवसरमा भिडन्त हुँदैछ । नेपालका चर्चित वितरक गोपाल कायस्थको फिल्म ‘लुटेरा’ र गोपिकृष्णले २ करोड नेपाली रुपियाँमा किनेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ एकसाथ चल्दैछ ।
लक्ष्मी पूजा वुधबारबाट निखिल अभिनित देशको राजनीतिक कथामा निर्मित नेपाली फिल्म ‘लुटेरा’ चल्नेछ भने गीत संगीतमा राम्रो मानिएको सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ शुक्रबारबाट प्रदर्शन हुने फिल्म बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
पछिल्लो समय बलिउड फिल्म हेर्न पल्किएका दर्शकलाई फिल्म लुटेराले तान्छ कि तान्दैन या सलमान खानलाई निखिलले विस्थापित गर्छन् कि गर्दैन ‘लुटेरा’ र ‘प्रेम रतन धन पायो’ को भिडन्तले नै देखाउनेछ ।
प्रतिक्रिया