युरोपमा सुनकलीलाई अवार्ड

suna kaliकाठमाडौं, १७ कात्तिक । भोजराज भाट निर्देशित डकुमेन्ट्री फिल्म ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

इटालीको मिलानमा सम्पन्न ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो ।

आइतबार भएको समापन समारोहमा फेडेरेशन अफ इन्टरनेश्नल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट)का अध्यक्ष फ्रान्को अस्कानीले निर्देशक भाटलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

सात अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फिक्स्ट फेस्टिबलले वर्षेनी विभिन्न १६ मुलुकमा स्पोर्टस् फिल्म फेस्टिबलको आयोजना गर्ने गर्दछ । सबैतिर फेस्टिबल गरिसकेपछि वर्षको अन्त्यमा इटलीको मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनौट गरी फिक्स्ट फेस्टिबल आयोजना गर्ने चलन छ । फिल्म फेष्टिबल गत फागुनमा नेपालमा पनि भएको थियो । ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिबलमा मनोनयनमा पर्नुु आफैंमा ठूलो उपलब्धि भएको फिल्मका निर्देशक भाटले बताए । न्युन लगानीमा बनेको सुनकलीलाई जुरीले अवार्ड दिदा कथा र विषयवस्तुलाई पनि साच्चिकै कदर हुँदो रहेछ भन्ने महसुस भएको पनि उनले थपे ।
५० मिनेट लामो डकुमेन्ट्रीमा पत्रकार भाटले १३ वर्षीया सुनकली बुढा र उनकी साथीहरूको फुटबल कथालाई प्रस्तुत गरेका छन् । फेष्टिवलमा ५३ देशका डेढ सयबढी फिल्म प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया