रुपन्देही, १७ कार्तिक । आन्दोलनरत मधेसी मोर्चाको अवरोध नभए पनि भारतीय पक्षको एकतर्फी नाकाबन्दीका कारण यहाँ स्थित बेलहिया नाका मंगलवार पनि ठप्प भएको छ । जसले गर्दा सीमा क्षेत्रमा नेपाल भित्रिन र भारततर्फ जान लाइन लागेका गाडीहरूको अलपत्र परेका छन् ।
करिब डेढ महिनादेखि नाकाबन्दी गर्दै आएको भारतीय पक्षले सोमबारदेखि घोषित रुपमै नाकाबन्दी गरेको छ । भारतीय नाकाबन्दीको प्रभाव मुलुककै दोस्रो ठूलो भन्सार नाका भैरहवामा पनि प्रत्यक्ष परेको छ । यतिका दिनसम्म बन्द हुँदा पनि कहिले खुल्ने त कहिले बन्द हँुदै आएको यो नाका सोमबारदेखि झन समस्या थपिएको छ । आइतबार मात्रै रक्सौल विरगन्ज नाकामा रोकिएका सयौं मालबाहक गाडीहरू पुनः रुट परमीट लिई बेलहिया नाकातर्फ आएका थिए । सयौं किलोमिटर बाटो हुँदै फर्किएर सुनौली बेलहिया नाकामा आएका सयौं मालबाहक गाडीहरू अहिले भारतीय शहर नौतवना, महारजगन्जमा अलपत्र परेका छन् ।
भारतीय नाकाबन्दीसंगै नेपालबाट भारततर्फ जान हिँडेका सयौं गाडीहरू नेपालतर्फ बेलहियादेखि डण्डा पुलसम्म लाइनमा छन् भने उता भारततर्फ सुनौलीदेखि नौतनवासम्म लाइनमा छन् । गाडीहरूको चापको कारण सीमावर्ती शहरमा ट्राफिक समस्या पनि सृजना गरेको छ ।
यता, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरगन्ज घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्रीसंग स्पष्टीकरण माग गरेको छ । मोर्चा सम्बद्ध दल सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओप्रकाश यादव गुलजारीले प्रहरीले दमन गरेको जनाए । भैरहवा भन्सार कार्यलयका अधिकृत रविन्द्र प्याकुरेलका अनुसार भारतीय नम्बर प्लेटका गाडीहरूलाई भारतले निर्वाध जान दिएको तर भारतबाट नेपालतर्फ आउने गाडीहरूलाई रोकावट लगाएको जनाए ।
प्रतिक्रिया