अरुण नदीमा जेटबोट चर्चामै सीमित

संखुवासभा,  १५ कात्तिक  । संखुवासभाको मनकामनाबाट सुनसरीको चतरासम्म अरुण नदीमा जेटबोट चलाउने चर्चा सुरु भएको दशक हुन लाग्यो । तर, जिल्लालाई जल मार्गबाट जोड्ने यो योजना यतिका बर्ष बितिसक्दा पनि चर्चामै सीमित छ ।

जेटबोट चलाउने योजनासहित पछिल्लोपटक जुटेको नेपाल जल यातायात प्रा.लि. नामको कम्पनीले संकलन गरेको सेयर रकम फिर्ता दिईसकेको छ । स्थानीय आदिवासीसँगको समन्वय र सहकार्यमा काम थालेको कम्पनीसमेत असफल भएपछि अरुण नदिमा जेटबोट चलाउन पटक–पटक चर्चा मात्र हुने गरेको छ । स्थानियले आवश्यकता र महत्व नबुझिदिँदा काम अगाडि बढाउन नसकिएको कम्पनीका अध्यक्ष लेखनाथ बुढाथोकीले बताए । उनका अनुसार, सर्वदलीय र सर्वपक्षीय भनेर २०६८ सालमा गठन गरिएको संचालक समितिका सवै पदाधिकारीले पनि काममा चासो नदेखाउँदा योजना अधुरो रहेको हो । एक करोड लगानी जुटाएर एउटा जेटबोट संचालन गर्ने कम्पनीको योजना थियो ।

करिब एक सय २० किलोमिटरको यो जलमार्गको सरकारले प्रारम्भिक सर्वेक्षण पनि गरिसकेको छ । सप्तकोशीका सहायक मध्ये सवैभन्दा ठुलो यो नदिका केहि स्थानमा मात्र चट्टान रहेको र त्यसलाई हटाएर सजिलै जेटबोट चल्ने विज्ञहरूले बताएका छन् । जेटबोट चले चतरा पुग्न एक घण्टा मात्र लाग्नेछ । जेटबोट संचालनको नाममा संकलित सेयर रकम पनि काम नहुँने देखिएपछि आफुले फिर्ता गरिदिएको कम्पनीका अध्यक्ष बुढाथोकीले बताए । जेटबोट चलाउन स्थानियले नौ लाख रुपैयाँ जम्मा गरिसकेका थिए । सरकारसँग जल यातायात सम्बन्धि स्पष्ट नीति नभएकोले  पनि काम गर्न कठिन भएको उनले बताए

यातायातको विकल्प मात्र नभएर यसले जिल्लाको विकासमा महत्वपुर्णभुमिका निर्वाह गर्ने राजनीतिकर्मी राजेन्द्र थापाले बताए । उनले भने ‘यसले संखुवासभा र अरुण उपत्यका क्षेत्रको पर्यटनलाई समेत टेवा दिन्छ ।’ यसरी जेटबोटलाई चर्चामा मात्र ल्याईरहनु भन्दा यसको विस्तृत अध्यायन गरि पुन काम थाल्नु पर्ने उनको सुझाव छ । नेपाल जल यातायात भन्दाअघि पनि पुर्वसभासद हरि बैरागी दाहालको अगुवाईमा जेटबोट चलाउने चर्चा चलेको थियो ।

त्यसबेला भने आफुहरूको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने र सहमतिविना योजना अगाडि बढाएको भन्दै स्थानिय आदिवासीले विरोध गरेका थिए । तराई सम्मको यात्रा र ढुवानीका लागि छोटो र सस्तो हुने निश्चित भएपनि अरुणमा जेटबोट संचालनको योजना पछिल्लो भने ओझेलमा परेको छ ।

प्रतिक्रिया