धनकुटा, १४ कात्तिक ÷ धनकुटामा सञ्चालन भईरहेको बृहत निःशूल्क शल्यक्रिया स्वास्थ्य शिविरमा हालसम्म एक सय ५० बिरामीको शल्यक्रिया गरिएको छ । गत कात्तिक ९ गतेबाट सुरु भएको शिविरमा ६९ जना बिरामीको जटिल र ६८ बिरामीको सामान्य शल्यक्रिया भईसकेको आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
गरिव, असहाय र पहँुचबिहिनहरुलाई लक्षित गर्दैै अलोहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा कात्तिक २१ गते सम्मका लागि शिविर सञ्चालन गरिएको हो । बिरामीको शल्यक्रियाका लागि अमेरिका लगायत बिभिन्न देशबाट आएका बिशेषज्ञ डाक्टरहरु सहितको ४६ सदस्य स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा हालसम्म तीन सय जनाको दाँतको उपचार गरिएको छ । त्यस्तै एकजनालाई कृतिम हात लगाईएको छ । उपचारका लागि नाम दर्ता गराएका एक हजार एक सय ६५ जना बिरामी मध्ये ६ सय ८७ जनाको स्वास्थ्य परिक्षण गरिएको शिविर स्वयंसेवक परिचालन समिति संयोजक बिजयसन्तोषी राईले जानकारी दिए ।
शिविरमा उपचारका लागि धनकुटा सहित भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, सुनसरी मोरङ्ग, झापा, सिराहा, सप्तरी र जनकपुर सम्मका बिरामीहरु आएको आयोजकले जनाएको छ । शिविरमा शरिरका गाठागुठी, कोठी, छाला टासिएको, हर्निया, हाइड्रोसिल, पित्तथैलीको पथरी, मुत्र थैलीको पथरी, मेजर पाईल्स, पाठेघर झरेको, पाठेघरमा मासु पलाएको, खुडे, आगोले पोलेको र छाला टाँसिएका बिरामीहरुको सल्यक्रिया गरिन्छ । दाँत सम्बन्धी रोगको उपचार र कृतिम हात समेत निःशुल्क लगाईने आयोजकले जनाएको छ ।
अलोहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा धनकुटामा चौथो पटक यस्तो शिविर सञ्चालन भएको हो । सन २०१० मा नेपालमै पहिलो पटक धनकुटामा सञ्चालन गरिएको यो शिविर हालसम्म लाहानमा एक पटक र धनकुटामा चार गरी नेपालमा पाँचौ पटक सञ्चालन भएको छ । शिविरमा अमेरिका लगायत बिभिन्न देशबाट आएका बिशेषज्ञ डाक्टरहरुले आफ्नै खर्चमा बिरामीको उपचार गर्ने गरेका छन ।
प्रतिक्रिया