देउखुरी, २१ असोज । प्राथमिक स्वास्थ्य केन्द्र लमहीका एम्बुलेन्स चालक महेन्द्र विकको मोबाइलमा फोन आयो ‘म मध्यनगरबाट बोलिरहेको छु, यहाँ सिरियस बिरामी छ, लिन आउनुप¥यो’ तर, चालक महेन्द्रले दुःखका साथ जवाफ फर्काए, ‘एम्बुलेन्समा एक थोपा तेल छैन्, स्वास्थ्य केन्द्रमै थन्काएर बसेको छु ।’ भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम अभाव हुन थालेपछि अत्यावश्यक सवारी साधन एम्बुलेन्सलेसमेत डिजल पाउन सकेका छैनन् ।
डिजलको अभाव एम्बुलेन्स सञ्चालन गर्न समस्या परेको देउखुरी उद्योग वाणिज्य संघको एम्बुलेन्स चलाउँदै आएका शेतुलाल जैसीले जानकारी दिए । ‘बिरामी लिएर वुटवल आएको छु, यहाँ तेल सिद्धियो, कतै हाल्न पाइएको छैन’ उनले भने, ‘देउखुरीका पम्पमा तेल सिद्धियो, एम्बुलेन्सलाई समेत पाउन गाह्रो भयो ।’
तेलको अभाव हुँदा चौतर्फी असर देखिएको छ । बिरामी बोक्ने गाडीलेसमेत तेल पाउन छाडेपछि जिल्लाभित्र र बाहिर रिफर गरेका बिरामीहरूको उपचारमा समस्या देखिएको छ । ‘तेल पाउन छाडेपछि एम्बुलेन्स स्वास्थ्य केन्द्रमै बसेको छ’ प्राथमिक स्वास्थ्य केन्द्र लमहीका डा.वसन्त रेग्मीले भने ‘कुपन भए पनि पम्पमा तेल सकिएपछि पाउन नसकिएको हो ।’ देउखुरी क्षेत्रमा १२ वटा एम्बुलेन्स रहेका छन् । उता दाङका सिडिओ लोकनाथ पौडेलले सिकिस्त बिरामीलाई मात्रै बोक्ने एम्बुलेन्सलाई जताबाट भए पनि तेल उपलब्ध गराउने बताए । उनले अस्पतालको रिफर गरिएको सिफारिस पत्रका आधारमा मात्रै तेल उपलब्ध गराउन सकिने जानकारी दिए । ‘तेल मात्रै हाल्ने तर, बिरामी नलैजाने एम्बुलेन्सहरूलाई तेल दिन सकिँदैन’ उनले भने, ‘तेल स्टक गरी राखिरहने सवारी साधनलाई उपलब्ध गराइँदैन ।’
डिजलको अभावमा पूर्व–पश्चिम राजमार्गमा सवारी साधन सञ्चालनमा निकै कमी आएको छ । सार्वजनिक यातायात, निजी सवारी साधन र अत्यावश्यक सवारी साधन पनि कम चलेको पाइएको छ । खेतीपातीको सिजन भए पनि डिजल नहुँदा किसानहरूले खेत जोत्न पाएका छैनन् । बजारमा अत्यावश्यक सामान ढुवानी गरी भित्र्याउन नसकिएको ब्यापारीले बताएका छन् । राजमार्ग केन्द्रित गर्दै देउखुरीमा डिजल भित्र्याउने तयारी भइरहेको छ । नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रीय सदस्य लीलाराम खनालका अनुसार पश्चिममा कुसमदेखि पूर्वमा कालाकाटेसम्मको पम्पका लागि करिब ३६ हजार लिटर डिजल आउँदै गरेको र त्यो डिजल प्रशासनले उपलब्ध गराएको कुपनका आधारमा मात्रै वितरण गरिन्छ ।
प्रतिक्रिया