विस्फोटक पदार्थ पड्कियो

रूपन्देही । भैरहवाको गौतमबुद्ध विमानस्थलको नजिकै बिहीवार बिहान शक्तिशाली विस्फोटक पदार्थसहितको बम विस्फोट भएको छ । विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा बिहीवार बिहान साढे दुई बजे पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रूपन्देही प्रहरीले जनाएको छ । विस्फोटको आवाज तीन÷चार किलोेमिटर वरपरसम्म सुनिएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।

विस्फोट किन र कसले गरायो भन्ने यकिन नभए पनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाइएको हुनसक्ने रूपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुङको अनुमान छ । विस्फोटक पदार्थ ठूलो आवाज आउने किसिमको भए पनि त्यसले कुनै पनि मानवीय तथा भौतिक क्षति नगराएको प्रहरीले जनाएको छ ।

विस्फोट भएलगत्तै नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । अहिले भने त्यहाँको स्थिति केही सामान्य बनेको प्रहरीको भनाइ छ । यसअघि पनि भैरहवाकै घाग्रा खोला नजिकै शक्तिशाली विस्फोटक पदार्थ राखेर विस्फोट गराएको थियो । आफ्ना माग जसरी पनि पूरा गराउनुपर्छ भन्ने उद्देश्यले दुई महिनादेखि आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले विगत केही दिनदेखि सीमा नाकाहरूमा अवरोध गर्दै आएको छ । जसले तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

प्रतिक्रिया