विराटनगर । तराईका जिल्लामा चौँठचन्द्र पर्व धार्मिक विधिपूर्वक बिहीबार (आज) मनाइँदै छ ।
भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो । प्राचीन मिथिलाका राजा हेमांगद ठाकुरले यो पर्वको शुभारम्भ गरेको विश्वास गरिन्छ । उनी ज्योतिषी पनि थिए ।यस पर्वको अवसरमा मिथिलामा पूजाको अवसरमा बनाउने गरिएका कलात्मक अरिपन आँगनमा बनाउने गरिन्छ । चामलको पिठोले आँगनमा अरिपन गरी त्यसमा चन्द्रमाको आकृति बनाउनुका साथै विभिन्न पूजाका सामग्री राख्ने स्थल अंकित गरिन्छ ।
त्यसपछि पूजाका सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल केरालगायत सामग्री राखेर पूजा सुरु गरिन्छ । यो पर्व मनाउने परिवारका एकजना दिनभर उपवासमा बसेका हुन्छन् । पूजामा बस्नुअघि स्नान गरी स्वच्छ मनले चन्द्रमा र गणेशलगायत देवीदेउताको पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर चन्द्रमाको दर्शन गरिन्छ । (सौस)
प्रतिक्रिया