पत्रकारको घरमा पेट्रोल बम प्रहार

petrol bumवीरगञ्ज, २८ भदौ । आइतबार राती पत्रकार राम सर्राफको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष सर्राफ द हिमालयन टाइम्सका पर्सा संवाददाता एवं अनलाइन यात्रा डेलीका सञचालक पनि हुन् ।

वीरगञ्ज १२ रानीघाटस्थित सर्राफको घरमा आइतबार राति सवा नौ बजे अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो । कफ्र्यु लागेकै बेला राति सवा नौ बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित युवकहरूले सर्राफको घरको मूल गेटमा पेट्रोल बम प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफू सपरिवार घरभित्र रहेका बेला मूल गेट बाहिर आगो बलेको देखेर छिमेकीहरूले खबर गरेपछि बाहिर आएर हेर्दा बलिरहेको आगोबाट पेट्रोलको गन्ध आएको सर्राफले बताए । स्थानीयवासीको सहयोगमा आगो निभाइएको पत्रकार सर्राफले बताए ।

घटनालगत्तै पर्साका सिडिओ केशवराज घिमिरे र एसपी दिवेश लोहनीलाई जानकारी गराए पनि कुनै सहयोग नपाएको उनले गुनासो गरे । यता घटनाको चौतर्फी भत्सर्ना भएको छ । घटनामा कसको संलग्नता रहेको भन्ने यकिन हुन नसकेको सर्राफले बताए ।

प्रतिक्रिया