पाठ्यपुस्तक छपाईमा एकद्वार प्रणाली खारेजीको माग

काठमाडौं, २८ भदौ । एकद्वार प्रणालीबाट विद्यालय तहको पाठ्यपुस्तक छाप्ने निर्णय खारेजीको माग निजी प्रकाशन गृहहरुले गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले खुला प्रतिस्पर्धाबाट पुस्तक छाप्न पाउनुपर्ने माग गरेका छन् । नेपाल कागज व्यावसायी संघ, नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ र नेपाल मुद्रण उद्योग महासंघले सोमबार सयुक्त पत्रकार सम्मेलन गरी खुला प्रतिस्पर्धाबाट पाठ्यपुस्तक छाप्न पाउनुपर्ने माग गरेका हुन् ।

जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनले आफ्नो दायित्व पूरा नगरेको अवस्थामा थप विद्यालय तहको पाठ्यपुस्तक छाप्न नदिनुपर्ने उनीहरुको भनाइ छ । यसै शैक्षिक सत्रदेखि जनक र साझाले निजीलाई पाठ्यपुस्तक छाप्न नदिई आफैँ छाप्न थालेका हुन् । वार्षिक करोडौँ रोयल्टी बुझाउँदै गरेको बताउँदै उनीहरुले सरकारले फेरि पनि विद्यार्थीलाई समयमा पाठ्यपुस्तक नपु¥याउन एकद्वार प्रणाली अवलम्बन गरेको बताए । ‘विगतमा हामीले समयमा पुस्तक छाप्दा त पु¥याउन नसक्ने साझाले आफैँ पुस्तक छापेर कसरी पु¥याउन सक्ला’ उनले भने, ‘यो फेरि पनि पाठ्यपुस्तक नपु¥याउने खेल हो ।’ उनले पाठ्यपुस्तक नपुग भएको खण्डमा अन्तिम घडीमा रातरात विदेश लगेर पुस्तक छापेर आर्थिक चलखेल गर्न एकद्वार प्रणाली लागु गरिएको जानकारी गराए । ‘जनक र साझाले कुनै पनि हालतमा पुस्तक छाप्न सक्दैनन्,’ उनले भने, ‘अनि रातारात विदेशमा पुस्तक छापेर आर्थिक चलखेल गर्नका लागि हो ।’

यता साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले कुनै चलखेल नभई निर्धारित समयमा पुस्तक पु¥याउनका लागि आफूहरुले पुस्तक छापिरहेको बताए । उनले माफियाहरुले पुस्तक छाप्न नपाएर छटपटाइरहेको बताए । सामग्री केन्द्रका अध्यक्ष अनिल झाले ५५ लाख थान पुस्तक छापिसकेको जानकारी गराए । उनले निर्धारित समयमा पुस्तक बालबालिकाको हातमा पु¥याउने दाबी गरे । सरकारले साउन १२ गते एकद्वार प्रणालीबाट जनक र साझालाई माध्यमिक तहको पाठ्यपुस्तक छाप्ने निर्णय गरेको थियो । शिक्षामन्त्री चित्रालेखा यादवको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक छपाई तथा वितरण निर्देशिका ०६७ खारेजी गरी साझा र जनकलाई पुस्तक छाप्ने जिम्मा दिएको थियो ।

प्रतिक्रिया