काठमाडौं २८ भदौ । असोज ३ गते नयाँ संविधान घोषणा हुने भएको छ । यसका लागि राष्ट्रपति रामवरण यादवलाई भेट्न संविधानसभा अध्यक्ष सुवास नेम्बाङ भोलि (मंगलबार) बिहान ९ बजे शीतल निवास जाँदै छन् । सोमबार साँझ नै भेट्ने भनिए पनि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री सुशील कोइरालालाई समय दिएको भन्दै सभाध्यक्ष नेम्बाङलाई आज (मंगलबार) बिहान बोलाइएको हो ।
‘अहिले प्रधानमन्त्रीलाई समय दिई सकिएकाले सभाध्यक्षलाई राष्ट्रपतिले भोलि बिहान भेट्नुहुन्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । ‘प्रधानमन्त्रीलाई हिजै दिएको समय हो, उहाँ हिजो आउन सक्नुभएन र आजलाई भेट सारिएको हो । भोलि फस्ट आवरमा सभाध्यक्षसँग भेट हुन्छ,’ दाहालले भने ।
सभाध्यक्ष असोज–३ गते आइतबार साँझ ५ बजे ‘नेपालको संविधान २०७२’ घोषणाका लागि राष्ट्रपति यादवलाई निमन्त्रणा दिन सोमबार साँझ ७ बजे शीतल निवास जाने कार्यक्रम थियो ।
यसअघि नै संविधानसभाका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले संविधान घोषणाको नयाँ मिति (३ असोज)बारे पुष्टि गरेका थिए ।
यसरी पारित भयो धर्मनिरपेक्षता
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सोमबारको संविधानसभा बैठकको सुरुमा नै धर्मनिरपेक्षतामाथिको संशोधन विधेयकमा मतदान गराए । प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला, विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला । संविधानसभा अध्यक्ष नेम्बाङले धारा ४ मा मतदान गराइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मत विभाजन गर्न माग गरे । अध्यक्ष नेम्बाङले तत्काल नै मत विभाजन गर्ने संख्यालाई उठ्न लगाए, जति बेला २ दर्जन सभासद् मात्रै उठे, उनीहरूलाई अध्यक्ष नेम्बाङले बस्न आग्रह गरे, त्यससँगै संविधानको धारा ४ मा कांग्रेस एमाले र एमाओवादीले संयुक्त रूपमा राखेको संशोधन प्रस्ताव पारित भयो र नेपाल धर्मनिरपेक्ष राष्ट्र भनी नेपालको संविधानको २०७२ को अंग बनाइयो ।
यो धारामा २१ वटा संशोधनहरू परेका थिए । दीपक बोहरा, रामकुमार राई, शिवलाल थापाले पेस गरेको संशोधन प्रस्ताव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाल स्वतन्त्र अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, प्रजातान्त्रिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य हो’, भनेर राखेको प्रस्ताव तथा यशोदाकुमारी लामा, भाष्कर भद्रा, कुमार खड्का, हरिचरण साह, अनुराधा थापा मगरले राखेको प्रस्ताव संविधानसभाको बहुमतले अस्वीकार गरेको थियो ।
तर, यो धारामा ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’, भन्ने व्याख्या संविधानसभाले पास गरेको छ ।
राष्ट्रिय जनावर गाई
संविधानसभाले गाईलाई राष्ट्रिय जनावर घोषित गरेको छ । मस्यौदाको धारा ९ मा सभासद् शिवलाल थापाले राष्ट्रिय जनावर गाई राख्न नहुने भन्दै राखेको संशोधनलाई संविधानसभाले अस्वीकृत ग¥यो ।
यस्तै, यशोदाकुमारी लामाले राखेको संशोधन पनि अस्वीकृत भएको छ । राष्ट्रिय जनावर एकसिंगे गैंडा राख्न माग गर्दै सभासद् अनुराधा थापा, लोकमणि ढकालले राखेको संशोधन प्रस्ताव पनि अस्वीकृत भयो । राष्ट्रिय जनावर गाई हटाउन माग गर्दै सभासद् विश्वेन्द्र पासवानले राखेको संशोधन पनि संविधानसभाले अस्वीकृत ग¥यो ।
यसैगरी, धारा ९ अन्तर्गत नै रहेको राष्ट्रिय पोसाकमा दौरा सुरुवाल र गुन्यू–चोलो नरहने भएको छ । दौरासुरुवाल र गुन्यूचोलोलाई राष्ट्रिय पोसाक बनाउनुपर्ने सभासद् कुमार खड्काको संशोधन प्रस्ताव अस्वीकृत भएको हो । तीन दलको संयुक्त पारित भएको संशोधन प्रस्तावमा पनि राष्ट्रिय पोसाक के रहने भन्नेबारे भने केही खुलाइएको छैन ।
सबै मातृभाषा राष्ट्रभाषा
नेपालमा बोलिने सबै मातृभाषा अब राष्ट्रभाषाका रूपमा लिइने भएको छ । धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था गरिएको छ ।
सञ्चारको हकप्रति महासंघको आपत्ति
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले नयाँ संविधानको परिमार्जित विधेयकको धारा १९ मा उल्लिखित प्रावधानप्रति विरोध जनाएको छ ।
धारा १९ मा सञ्चारको हकसम्बन्धी व्यवस्था छ । यस धारामा परेका तीनवटा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि परिमार्जित विधेयक जस्ताको तस्तै पारित भएको छ । यस धारामा प्रतिबन्धात्मक वाक्यहरू राखेर प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजिएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको हो ।
नेताहरूले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगर्ने प्रतिबद्धता व्यक्त गर्दै संविधानमा सञ्चारजगतको अधिकार कटौती नहुने आश्वासन दिएका छन् ।
प्रतिक्रिया