रुपन्देही, २६ भदौ । सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले आन्दोलनरत मोर्चालाई वार्ताका लागि आह्वान गरेका छन् । उनले हिंसाबाट समस्याको समाधान नहुने भन्दै टेबल टक गर्न मोर्चालाई आह्वान गरेका हुन् ।
शनिबार शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको आठौँ वार्षिकोत्सव तथा चौथो तीज गीत प्रतियोगीलाई उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका रिजालले वार्ताबाट समस्याको समाधान गर्न सकिने बताए । उनले भने, ‘आप्mनै ढिपी गर्ने हो भने समस्याको समाधान हुँदैन, झन् समस्या थप हुन्छ त्यसैले बार्ताबाट अगाडि बढौँ ।’
उनले ९० प्रतिशत जनसंख्याले चाहेको कुरा संविधानमा आउन लागेकाले अझै पनि मोर्चाले आफ्नै ढिपी गर्न नहुने र आफ्ना माग शान्तिपूर्ण रूपले राख्न आग्रह गरे । ‘मन नपरेका कुरा सबै काट्नहोस, मन लागेको कुरा सबै थप्नुहोस् भन्ने हो भने संविधान खाली आउँछ’ उनले भने, ‘सबैलाई मान्य हुने संविधान आउन लागेको छ ।’ उनले सबैका मागहरू समेट्न प्रयत्न भइरहेको बताए । ९० प्रतिशत जनता चुप रहेको र १० प्रतिशत जनताले अशान्त मच्चाएको भन्दै केही अशान्तका कुरा समेट्न नसकिने बताए ।
कार्यक्रममा गुल्मी क्षेत्र नं १ का सभासद् डा. कृष्णबहादुर छन्त्याल, एमाओवादी पोलिटब्युरो सदस्य वामदेव क्षत्री, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष यानेन्द्र जिसीलगायतले बोलेका थिए । कार्यक्रम बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ्वी फौजदारको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया