ताप्लेजुङ, २६ भदौ । टमाटर खेतीबाट राम्रो आम्दानी भएपछि ताप्लेजुङ थेचम्बूमा धान र कोदोलगायतका अन्नबाली विस्थापित बन्दै गएका छन् । अन्नको तुलनामा टमाटर खेतीबाट ८ गुना बढीसम्म आम्दानी गर्न सफल भएपछि टमाटर खेतीमा किसानहरूको आकर्षण बढेको हो । थेचम्बू–३ की प्रेमकुमारी बरालले गतवर्ष लगाएको टमाटरबाट २ लाख ४० हजार आम्दानी भएको सुनाइन् ।
पहिले त्यही टमाटर भएको ठाउँमा धान खेती गर्दा अहिलेको भाउमा ३२ हजारको १६ मुरी धान फलेको उनले तुलना गरिन् । ‘धान, मकै र कोदोको खेतीबाट त खासै आम्दानी हुन्न, खान पनि हम्मेहम्मे पर्छ तर टमाटर खेतीबाट मनग्गे आम्दानी पाएकी छु’ प्रेमकुमारी बरालले भनिन् । परिवारकै सहयोगमा गर्न सकिने टमाटर खेती अन्य खेतीभन्दा सहज रहेको अनुभव बरालको रहेको छ ।
प्रेमकुमारी त थेचम्बू गाविसकी १ जना उदाहरणीय पात्र मात्र हुन् । उनीसँगै सो गाविसका ५ दर्जनबढी परिवारले धानखेत तथा कोदोबारी मासेर टमाटर खेती गरेका छन् । पहिले आफ्नै सीप र अनुभवबाट टमाटर खेती थालेका थेचम्बू गाविसका किसानहरूलाई यस वर्ष भने स्थानीय युवा स्वरोजगार सहकारी संस्थाले तालिम प्रदान गरेपछि झनै हौसला बढेको छ ।
थेचम्बू–४ का खड्ग भट्टराईले विदेशबाट फर्किएपछि आफू टमाटर खेतीमा लागेको जानकारी दिए । गत वर्ष करिब ४ सय बिरुवा रोपेका भट्टराईले यसवर्ष १ हजार २ सय विरुवा रोपेको बताएका छन् । ४ सय विरुवाबाट ४२ हजार आम्दानी गरेका उनले यसवर्ष झन्डै डेढलाख आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
युवा स्वरोजगार सहकारी संस्था थेचम्बूका अध्यक्ष किशोर मेन्याङ्बोले यसवर्ष थेचम्बू गाविसमा १ लाख ८० हजार बढी टमाटरका विरुवा लगाइएको जानकारी दिए । उनका अनुसार थेचम्बूको–२, ३, ४ र ५ तथा ८ का किसानहरूले धान र कोदोको सट्टामा टमाटर खेती लगाएका छन् । गाविसको ५० प्रतिशत अनुदान तथा बाँकी किसानहरूको व्यक्तिगत लगानीमा टमाटर खेती गरिएको मेन्याङ्बोले बताए ।
व्यावसायिक टमाटर खेती थालनी भए पनि स्थानीय स्तरमा बजारको भने अभाव रहेको अध्यक्ष मेन्याङ्बोले औँल्याएका छन् । ‘टमाटरको पाक्ने सिजनमा ६ गाडी टमाटर एकै दिनमा तयार हुन्छ, ताप्लेजुङमा दिनमा एक गाडी टमाटर पनि खपत हुँदैन । बजारको अभाव छ’ मेन्याङ्बोले भने । आगामी दिनमा टमाटर प्रशोधन गरी गाउँमै टमाटो सस निर्माण गर्ने सोचमा रहेको पनि उनले जनाएका छन् ।
प्रतिक्रिया