इलाम, २६ भदौ । एक महिनादेखिको लगातारको तराई–मधेस बन्दले चिजको निकासी बन्द हुँदा इलाममा दुग्ध विकास संस्थानअन्तर्गत सञ्चालित चिज कारखानाहरू २ सातादेखि बन्द भएका छन् ।
देशकै ठूलो चिज उत्पादन केन्द्रको रूपमा परिचित इलामको पशुपतिनगर चिज उत्पादन केन्द्र र यसअन्तर्गतका इलामका ४ तथा पाँचथरका २ चिज उत्पादन केन्द्रमा चिज उत्पादन बन्द गर्नुपरेको दुग्ध विकास संस्थानले जनाएको छ ।
ती ६ कारखानाले दैनिक ६ सय ५० किलो चिज उत्पादन गर्दै आएका थिए । चिज उत्पादन बन्द भएपछि दुग्ध उत्पादक किसानले दैनिक लाखौँ घाटा बेहोर्नुपरेको छ । सबै कारखानामा गरेर करिब ४० हजार केजी चिज भण्डारण भएको र बजार डामाडोल भएपछि उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको पशुपतिनगर चिज उत्पादन केन्द्रका प्रमुख सोमराज चापागार्इंले जानकारी दिए ।
गत १२ वैशाखमा गएको भूकम्पका कारण चिजको बजार खस्किएको र हाल आएर चिज बजारमा लानसमेत समस्या भएपछि चिज उत्पादन घटेको हो । चिज उत्पादन बन्द भएपछि चिज कारखानामा दूध बेचेर गुजारा गर्ने किसान मारमा परेका छन् ।
चिज उत्पादनका लागि संस्थानले विभिन्न कारखानामा करिव ७ हजार लिटर दूध खरिद गर्ने गरेको थियो । चिज उत्पादन नभए पनि दूध भने साताको ४ दिन विराटनगर पठाउने गरिएको केन्द्रले जनाएको छ । संस्थानले इलाममा बिहीबार, शुक्रबार र शनिबार गरी साताको ३ दिन दूध लिन बन्द गरेको छ । सातामा ३ दिन मिल्क होलिडे भएपछि किसानले गाईपालन व्यवसाय धरापमा परेको बताएका छन् ।
इलाममा र पा“चथरमा ६ सरकारी र निजी २३ वटा चिज कारखाना सञ्चालित छन् । ती कारखानाले चिजबाहेक मख्खनसमेत उत्पादन गर्ने गरेका छन् । निजी चिज उत्पादकहरूको छाता संगठन हिमालयन चिज उत्पादक संघका तुलु तामाङले निजी चिज कारखानाले पनि बजारमा बन्दका कारण चिज पठाउन नपाएको बताए ।
निजी कारखानाले आफ्नो कारखानामा उत्पादित चिज भण्डार अभावमा झापाको बिर्तामोडका निजी कोल्ड स्टोरमा मासिक प्रति किलो ५ रुपैयाँ तिरेर भण्डारण गरेका छन् । उनको लक्की डेरीको मात्र झापामा ३ हजार ५ सय किलो चीज स्टक रहेको जानकारी दिए । सरकारले यहाँ उत्पादित चिजलाई चीनको तिब्बत वा भारतमा निकासीका लागि भरपर्दो व्यवस्था गरिदिए चिजको बजार सहज हुने उनको भनाइ छ । इलाममा उत्पादित चिज काठमाडौं र पोखरालगायतका मुख्य बजारमा खपत हुने गरेको छ ।
प्रतिक्रिया