मोरङ, २५ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले संवेदनशील क्षेत्रहरूलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्नुका साथै नेपाली सेनाद्वारा गस्तीसमेत सुरु गरेको छ । आन्दोलनकारीहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि इनरुवा, झुम्का, दुहबी, खनारलाई लक्षित गरी ती क्षेत्रका मुख्य राजमार्ग वरपरका क्षेत्रलाई दंगाग्रस्त घोषणा गरिएको हो ।
सिडिओ रविलाल पन्थका अनुसार कोसी ब्यारेजदेखि इटहरीसम्मको पूर्व–पश्चिम राजमार्ग क्षेत्र र दक्षिणतर्फ मोरङसँग सीमाना जोडिएको दुहबीको बूढीखोलादेखि इटहरीसम्मको क्षेत्रलाई दंगाग्रस्त घोषणा गरिएको हो । यसअघि बिहीबार राती ९ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएकोमा बिहानैदेखि प्रदर्शन उग्र बन्न थालेपछि दंगाग्रस्त क्षेत्र घोषणा गरी सेनाले गस्ती सुरु गरेको छ ।
दंगाग्रस्त घोषणा गरिएको क्षेत्रमा नेपाली सेनाले पैदल तथा हवाइ गस्ती सुरु गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका क्षेत्रहरूमा उच्च सुरक्षा व्यवस्था मिलाइएको र ती क्षेत्रहरूमा नारा जुलुस, हुलदंगालगायतका गतिविधि पूर्णरूपमा निषेधित गरिएको सिडिओ पन्थले बताए ।
प्रतिक्रिया