कारको ठक्करले प्रहरीकोे मृत्यु

देउखुरी, २५ भदौ । देउखुरीमा गएराती कारको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी जवानको मृत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् । भालुवाङबाट लमही आउँदै गरेको बा १० च ५२३१ नम्बरको टाटा सुमो कारले ठक्कर दिँदा दाङ डुरुवा–९ निवासी २७ वर्षीय जितबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ठक्करबाट राजपुर–५ निवासी २८ वर्षीय अर्का प्रहरी जवान चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

भण्डारीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । राती करिब १२ बजे लमही नगरपालिका–१ नर्तीमा सुरक्षाका लागि राजमार्गमा खटिएका प्रहरीले मोटरसाइकलमा सवार व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा पूर्वबाट तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएर भागेको थियो । खोजतलासको क्रममा लमही नगरपालिका–१० देउपुरमा बेवारिसे अवस्थामा कार भेटिएको छ । चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया