लिम्बुवान बन्द शान्तिपूर्ण

इलाम, २५ भदौ । अरुण पूर्वका ९ जिल्लालाई लिम्बूवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग राख्दै आन्दोलनरत लिम्बूवान संयुक्त संघर्ष समितिले आह्वान गरेको २ दिने लिम्बुवान बन्द शान्तिपूर्ण सम्पन्न भएको छ । बन्दका कारण इलामसहित पाँचथर, ताप्लेजुङ, झापालगायत पूर्वको जनजीवन प्रभावित बन्यो । लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालन भएनन् । बजार, पसल, उद्योग, कलकारखाना तथा शैक्षिक संस्था ठप्प रहे ।

पत्रकार, मानवअधिकार, कुटनीतिक नियोग, एम्बुलेन्स, शववाहन, दमकल, चिया र दूधको गाडी भने निर्वाध रूपमा चलेका थिए । बन्दका क्रममा इलाममा कुनै प्रकारको अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बूवान’ भन्ने मूल नाराको दोस्रो चरणको आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत संघर्ष समितिले बिहीबार र शुक्रबार २ दिन पूर्वका ९ जिल्लामा बन्द आह्वान गरेको हो ।

विभिन्न ८ राजनीतिक दल र संघसंस्था सम्मिलित संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अरुणपूर्वको भू–भागलाई लिम्बूवान घोषणा गरिनुपर्ने माग गरेको छ । त्यस्तै धर्मनिरपेक्षताको निरन्तरता, राष्ट्रिय जनावर परिवर्तन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र र राज्यको सबै अंगमा समानुपातिक समावेशी सुनिश्चितता, युएनड्रिप, अन्तर्राष्ट्रिय श्रम संगठन १६९ कार्यान्वयन, विशेष संरक्षित क्षेत्रको स्थापना, बहुभाषिक शिक्षा नीतिलगायतको माग अघि सारेको छ । त्यस्तै लिम्बूवान क्षेत्रमा थातथलो खुलेका समुदायहरूको विशेष स्वायत्त क्षेत्र वा संरक्षित क्षेत्र साथै गैरभौगोलिक क्षेत्रहरूको सुनिश्चितता हुनुपर्ने माग राखेको छ ।

४ दलको सहमतिमा अरुण कोसी पश्चिमका उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुसमेत समेटेर पूर्वमा १ नम्बर प्रदेशको सीमांकन गरेपछि कोसी पूर्वका ९ जिल्ला मात्रै लिम्बूवान राज्य घोषणाको माग गरिरहेका लिम्बूवानवादी संगठनहरू आन्दोलनमा छन् ।

सीमांकनप्रति असन्तुष्टी जनाउँदै लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको पहलमा भदौ पहिलो साता लिम्बूवानवादी दल र संगठनहरूको संयुक्त संघर्ष समिति गठन भएको थियो । संघर्ष समितिले भदौ पहिलो सातादेखि नै सुनसरीको धरानबाट लिम्बूवान कब्जा अभियान पनि सुरु गरेको छ । समितिले निर्णायक आन्दोलन सुरु गरेको उद्घोष गरे पनि आन्दोलन शान्तिपूर्ण हुने जनाएको थियो ।

प्रतिक्रिया