पार्टीको निर्णय मान्न निर्देशन

prachanda-1काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका मधेसी र थारू समुदायका नेताहरूलाई पार्टीको  निर्णय मान्न निर्देशन दिएका छन् । उनले बुधबार पार्टीका मधेसी र थारू समुदायका नेताहरूलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा दाहालले मधेसी र थारू समुदायका नेताहरूसँग उनीहरूका मागबारे छलफलसमेत गरेका थिए ।

पार्टीभित्रका थारू र मधेसी नेताहरूको कुरा सुनिसकेपछि प्रचण्डले संविधान निर्माणलाई रोक्न खोज्दा जटिल परिस्थिति आउने भन्दै अहिलेसम्मका उपलब्धिलाई जोगाउन भए पनि संविधान जारी गर्न आवश्यक रहेको बताएका थिए ।

‘तपाईंहरूले उठाएका कुरा पनि बेठिक होइनन्, सकेसम्म वार्ताको वातावरण बनाएर सम्बोधन गर्ने प्रयास गर्छौँ,’ दाहालले भने थारू र मधेसी नेताहरूसँगको छलफलमा भने, ‘तर, तपाईंहरूले पार्टीको निर्णय मानिदिनुहोला ।’

छलफलमा एमाओवादीका मधेसी मूलका नेताहरूले वार्ताको वातावरण बनाउन दाहाल र नेता डा. बाबुराम भट्टराईलगायत नेताहरूसँग आग्रह गरेका थिए । उनीहरूले संविधानसभाको प्रक्रियालाई केही दिन ढिलो गर्न र मधेसबाट सेना परिचालन फिर्ता लिएर वार्ताको वातावरण बनाउन नेतृत्वलाई सुझाव दिएका थिए ।

दाहालले अहिले संविधानसभाबाट संविधान जारी हुन नदिन ठूलो चलखेल भएकाले यतिबेला देशका लागि सबैले सोच्नुपर्ने बेला आएकोसमेत औँल्याएका थिए ।

‘तपाईहरूको कुरा मैले गम्भीर ढंगले लिएको छु र सम्भव भएसम्म वार्ता पनि गर्न प्रयासरत छु । तर, पार्टीको निर्देशन तपाईंहरूले मान्नुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘प्रयास गर्दा पनि हुँदै नभए पनि तपाईंहरू सबैले दलको निर्देशन मान्नुपर्छ ।’

नेपाली कांग्रेस र एमाओवादी सम्बद्ध थारू र मधेसी सभासदले केही दिन प्रक्रिया रोक्न र आन्दोलनरत दलसँग वार्ता गर्न आ–आफ्नो पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । (सौस)

प्रतिक्रिया