ओखलढुंगा, २२ भदौ । ओखलढुंगामा बाढीले बगाएका विद्युत् आयोजना पुनर्निर्माणमा चासो दिन रिमरेकले आग्रह गरेको छ । लगातारको वर्षापछि जिल्लाका अधिकांश विद्युत् आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएसँगै गाउँहरू अन्धकारमय भएको भन्दै पुनर्निर्माणका लागि चासो दिन स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक)ले सबैसँग आग्रह गरेको हो । रिमरेकको सहजीकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकोे अनुदानमा सम्पन्न भएका लघु जलविद्युत् आयोजनासमेत बाढीवाट पूर्णक्षति भएको र ती आयोजनाको पुनर्निर्माणका लागि रिमरेकको सिफारिसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बढीमा १० लाखसम्म अनुदान दिने प्रावधान रहेको रिमरेकका जिल्ला संयोजक राजेन्द्र धमलाले बताए । सो अनुदान रकमले क्षति भएका सबै संरचनाहरू सम्पन्न गर्न सकिने अवस्था नभएकाले क्षतिग्रस्त आयोजनालाई पुनर्निर्माण गर्न सबै निकायले चासो दिनु आवश्यक रहेको उनको भनाइ छ । स्थानीय उपभोक्ता, राजनीतिकदल, जिल्ला विकास समितिसहितका सरकारी तथा गैरसरकारी निकायले विषेश प्राथमिकताका साथ पुनर्निर्माणको काम गरे आगामी केही समय भित्रै आयोजनाहरू पुनःसुचारु गराउन सकिने रिमरेकले जनाएको छ ।
बाढीले क्षेत्रीय सेवा केन्द्र÷स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) को सहजीकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकोे अनुदानमा सम्पन्न भएका ओखलढुंगाको एउटै खोलामा रहेका २ लघु जलविद्युत् आयोजनाको बाढीबाट पूर्ण क्षति भएको छ । भदौ १३ गते राती परेको अविरल वर्षाका कारण पहिरो गई स्थानीय ठोट्ने खोला थुनिई एक्कासि खोलिदा खोलाभन्दा १५ मिटरमाथि वा आसपासमा रहेका विभिन्न पूर्वाधारहरूको नाम निसाना नराखी बगाएको छ ।
सो खोलाको बाढीले नवीकरणीय ऊर्जाअन्र्तगत ओखलढुंगा माम्खा–.६, ७, ८ र ९ का २ सय १५ घरधुरीलाई समेट्ने गरी सञ्चालन भएको ठोट्ने खोला २३ किलोवाट लघु जलविद्युत् आयोजना र माम्खा–.१, ३, ४ र ५ का १ सय ७५ घरधुरीलाई समेट्ने गरी सञ्चालन भएको ठोट्ने खोला चामन १४ किलोबाट लघु जलविद्युत् आयोजनालाई पूर्णरूपमा क्षति गरी बगाएको छ ।
बाढीले २३ किवा लघु जलविद्युत् आयोजनाको कुलो २ सय मि., डिसेल्टिङ ट्यांक पुरै र पावर हाउस बगाई ६० लाख बराबरको क्षति गरेको र १४ किवा लघु जलविद्युत् आयोजनाको कुलो ३ सय मि., डिसेल्टिङ ट्यांक पूरै र पावर हाउस बगाई ५० लाख बराबरको क्षति गरेको जनाइएको छ । जिल्लाका अन्य दर्जनाँै विद्युत् आयोजनामा पनि लगातारको वर्षापछिको बाढी पहिरोले क्षति गरेको छ । विद्युत् आयोजनाहरू बन्द भएसँगै ओखलढुंगाका दर्जनौँ गाउँका स्थानीयहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।
प्रतिक्रिया