उदयपुर, २२ भदौ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार लागुऔषधसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– २ का मनीष सिलवाल, सोही नपा–७ को विकास बिक र सरोज घिमिरे छन् । उनीहरूको साथबाट प्रहरीले ५५ थान नाईट्रोजन ट्याबलेट र पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।
प्रहरी सक्रियता बढे पनि उदयपुरमा विभिन्न अपराधका घटनामा उल्लेख्य वृद्धि भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष यस वर्ष मुद्दाको संख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष ०७०÷७१ मा दुई सय ४७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७१÷७२ मा बढेर तीन सय ६ पुगेको प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७२÷७३ को हालसम्मको अवधिमा २१ अपराधमा संलग्न २२ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।
डिएसपी गुरुङका अनुसार जबर्जस्ती करणी, लागुऔषध, झुन्डिएर आत्महत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएकोे छ । सार्वजनिक अपराधका घटनामा भने कमी आएको छ । अघिल्लो वर्ष एक सय २१ सार्वजनिक अपराधका मुद्दा दर्ता भएकोमा गत वर्ष घटेर ५९ मात्र दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया