हलियापछि अब खलिया मुक्ति आन्दोलन

बाजुरा, २१ भदौ । कोटीला घर भएका प्रतापे औजी जिल्ला खलिया समाज बाजुराका अध्यक्ष हुन् । उनी लामो समयदेखि हलिया मुक्ति समाज खोलेर जिल्लामा विभिन्न हलियाका विषयमा वकालत गर्दै हिडिरहे । उनले सुरुआत गरेको हलिया आन्दोलन आज देशमै स्थापितसमेत भएको उनको दाबी छ ।

सबै दलित समुदायका मानिस  हलियामा नपरेपछि आजभोलि खलिया समाज गठन गरेर जिल्लामा खलियाको अधिकारका लागि हिडिरहेका छन् । पुर्खौदेखि दमन, शोषण, विभेदका कारण अन्यायमा परेका दलित खलियाहरू अधिकारका लागि एकजुट बनाउँदै आफ्नो कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।

जातीयताका सवालमा देशमै प्रधान भई छुवाछुतमुक्त राष्ट्र घोषणा भइसक्दा पनि अझै अन्यायमा बाँच्नुपरेको भन्दै खलिया अधिकारका लागि एकजुट बनेका हुन् ।

खलियाले दलित हुँदाको पीडा पुर्खौैंदेखि भोग्नुपरेको भन्दै अब भने त्यसको अन्त्यका लागि सबैक्षेत्रबाट पहल गर्नुपर्ने मागसहित एकजुट भएको खलियाले बताए ।

आफ्नो अधिकारका लागि जिल्ला खलिया समाजले  जिल्लाका उत्तरी भेगका ११ गाविसमा आफ्नो समूह निर्माण गरी कार्यक्रम विस्तार गरेका छन् । राज्यले हलियाका सवाललाई मात्र प्रथमिकता दिएको र आफ्ना सवाललाई वास्ता नगरेको भन्दै उनीहरूले जिल्लाको कोल्टी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । पेसाका आधारमा आपूmहरूले माथिल्लो वर्ग भनिनेहरूबाट वर्षांैदेखि अन्याय र दमन शोषणको जीवन बिताउनुपरेको खलियाले गुनासो गरेका छन् ।

उनीहरूले कामको उचित ज्याला दिने प्रथाको विकासका लागि जिल्लामा रहेका सम्पूर्ण दलित खलिया एकै सञ्जालमा आबद्ध हुने बताएका छन् । हलिया अधिकारका नाममा दलितभित्रै पनि बिक र दमाई बीचमा विभेद देखाई वास्तविक हलिया र पीडितको पहिचान नभएको गुनासोसमेत गरेका छन् । उनीहरूले कोल्टी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरी खलियालाई पनि राज्यले विशेषः आरक्षणको व्यवस्था गर्न आग्रह गर्नेसमेत बताएका छन् ।

खलिया समाजका अध्यक्ष प्रतापे औजी उपाध्यक्ष धनबहादुर नेपाली महासचिव प्रेम नेपालीेलगायत खलियाकोे टोली गाउँघर भेटघाट कार्यक्रममा  जुटेको छ । खलियाले आफ्ना सवाललाई आउँदो गाउँ परिषद्बाट पास गर्दै अघि बढाउने खलिया समाजका उपाध्यक्ष नेपालीले जानकारी दिए ।

दलित दलितमै छुवाछुत
जिल्लामा अन्य जातिका त कुरै छोडौँ अझै दलित दलितबीचमा पनि छुवाछुत कायमै रहेको खलियाले गुनासो गरेका छन् । खलियालाई बिकहरूले दमाई, वादीलगायत जातिलाईसमेत विभेद गर्ने गरेको खलिया समाजका अध्यक्ष प्रतापे औजीले बताएका छन् । उनले भने यो प्रथालाई अन्त्य गर्न आफूहरूले गाउँगाउँमा आफ्ना समूह विस्तार गरी जिल्लास्तरीय खलिय समाजसमेत निर्माण गरी सकेको र जिल्ला प्रशासन कार्यालय बाजुरामा समेत विधिवत् रूपमा दर्ता गरिसकेको बताएका छन् ।

 को हुन खलिया ?
खलिया जिल्लाका सबै गाविसमा साहुहरूको काम गरेर मानापाथी गरेर जीवन गुजार गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी खलिया जुकोट, बाई, कोटीला, बाधु, गोत्रीलगायत गाविसमा छन् ।

उनीहरू आफ्नो जीवन गुजाराका लागि आफ्ना रिथी (साहु) का कपडा सिलाउने, फलामका भाँडाकँुडा बनाउने हलोफालो डोकाडाला माटाका भाँडालगायत विभिन्न सामान बनाएर वर्षको एकपटक मात्र खलो माग्ने गर्छन् ।

उनीहरूले वर्ष भरी गरेको कामअनुसार खलो नपाउने गरेको हुँदा आफ्ना बालबच्चासमेत पाल्न समस्या भइरहेको समेत उनीहरूको गुनासो छ । गाउँमा दुःखदायी जीवन चलाइरहेका खलियाहरू आप्mना सबै जिम्मा राज्यले लिनुपर्ने उनीहरूको भनाइ छ ।  जिल्लामा दलित अधिकारका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघस्था काम गरे पनि खलियाका सवालमा कसैले पनि चासो नदेखाएको उनीहरूको गुनासो रहेको छ । यता राज्य भने दलित खलियाका सवालप्रति बेखबर बनिरहेको छ ।

प्रतिक्रिया