काठमाडौं, १८ भदौ । चलचित्र विकास बोर्डमा अबदेखि आदिवासी जनजातिहरूको चलचित्रहरूको अभिलेख राख्न सुरु गरिने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आदिवासी जनजाति चलचित्रहरूको अभिलेख संकलन कार्य सुरु गर्न लागेको बताएका हुन् ।
आदिवासी जनजातिका मातृभाषामा निर्मित चलचित्रहरूको सही अभिलेख नहुँदा राज्यको आँखामा ती चलचित्रहरू पर्न नसकिरहेको बताउँदै उनले यथार्थलाई मनन गरेर बोर्डले अभिलेख संकलन कार्य सुरु गर्न लागेको बताएका छन् । काठमाडौंमा भएको ‘२० औँ तामाङ चलचित्र दिवस’को अवसरमा बोल्दै अध्यक्ष राईले मातृभाषी चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने नीति बनाउने आश्वासन दिएका छन् । त्यसका लागि दर्ता प्रक्रिया, बिमा र सेन्सर शुल्कमा समेत पुनर्विचार गरिने समेत उनको धारणा थियो ।
मातृभाषी चलचित्रको सेन्सर गर्दा सम्बन्धित भाषाका विज्ञको अनिवार्य व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष राईले हाल चलचित्र निर्मातालाई लिइँदै आएको आएको शुल्कमा सहुलियत दिने बारेमा समेत छलफल भइरहेको जानकारी दिएका छन् ।
कार्यक्रममा तामाङ चलचित्रका सुरुवाती समयका पाँच चलचित्र निर्देशकहरूलाई विशेष सम्मान गरिएको छ । सम्मानित हुनेमा पहिलो तामाङ चलचित्रका निर्देशक जयनन्द लामासहित निर्देशकहरू दीपेन्द्र दोङ तामाङ, सञ्जय लामा बल, विकास लामा र सुजन लामा रहेका छन् ।
यस्तै, तामाङ चलचित्रको दुई दशक लामो इतिहासको अभिलेख संकलनमा योगदान पु¥याएबापत तामाङ चलचित्र अभिलेख पुस्तकका लेखक जयनकुमार मोक्तानलाई कदर पत्र प्रदान गरिएको थियो । तामाङ भाषाको पहिलो चलचित्र ‘सेमरी छोरङान’को २०५३ साल भाद्र १६ गते पहिलो प्रदर्शनीको सन्दर्भ पारेर तामाङ चलचित्र संघले तामाङ चलचित्र दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया