काठमाडौं । भ्याली पब्लिक स्कुलले १५औँ विल्सन हुप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बुधबार जित निकालेको छ । सिनियर गल्र्सको खेलमा रोशनी श्रेष्ठको १० स्कोरको मद्दतमा भ्यालीले हिमालयनलाई २५–५ ले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
गल्र्सकै अर्को खेलमा न्यु भिजन एकेडेमीले पहिलो जित हात पारेको छ । उसले रिब्सलाई २९–२० ले रोक्दा लक्ष्मी श्रेष्ठले १२ स्कोर गरिन् । जुनियर ब्वाइजको खेलमा ज्ञान निकेतनले विल्सनलाई ४०–२२ ले हराउँदा मनिस तामाङले १२ स्कोर गरे । बाफलस्थित विल्सन एकेडेमीको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा आयोजक विल्सन एकेडेमीले ज्ञान निकेतनलाई ४४–२४ ले हराउँदा पेम्बा शेर्पाले १४ स्कोर गरे ।
सिनियर ब्वाइजकै अन्य खेलमा साउथ पइन्टले ह्वाइट फिल्डलाई ३९–२९ ले निराश पार्दा बुद्ध एकेडेमीले हिम्सलाई ४०–२६ ले स्तब्ध बनायो । (सौस)
प्रतिक्रिया