उपत्यकाव्यापी सडक दौड हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षामन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिताभदौ २२ गते हुने भएको छ ।

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र÷छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् । काठमाडौंलाई ५ सय, ललितपुरलाई ४ सय र भक्तपुरलाई ३ सय कोटा निर्धारण गरिएको छ । छात्रमा ५ किलोमिटर र छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

छात्र/छात्रा दुवै समूहमा दसौं स्थानमा दौड टुंग्याउने नगद पुरस्कारको हकदार बन्ने छन् । कुल पुरस्कार राशि १ लाख ४ हजार रूपैयाँ रहेको यो प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार तथा चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पाँचौँदेखि दसौं स्थानमा रहनेलाई समान ३–३ हजार नगदबाट पुरस्कृत गरिनेछ ।

दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनःदशरथ रंगशालामै आएर टुंगिनेछ । सहभागी हुन इच्छुकले भदौ २१ गते सम्म नाम दर्ता गराइसक्नुपर्नेछ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा २४ सदस्यीय खेलकुद उपसमिति गठन गरिएको छ । (सौस)

प्रतिक्रिया