बाढी आउँदा विद्यालय सुनसान

badhi_kavreकाभ्रे, ५ भदौ । पुल नभएकाले बाढी आउँदा झिगु खोला पारीका विद्यार्थीलाई विद्यालय जान समस्या परेको छ । काभ्रेको पाँचखाल नगरपालिकाअन्तर्गत पर्ने आजाद प्राविमा यतिबेला वर्षाकै कारणले अधिकांश विद्यार्थी विद्यालय जान नपाएका हुन् ।

खोला तर्दै विद्यालय जानुपर्ने भएपछि ठूलो बाढी आएको बेला विद्यार्थीहरू विद्यालय जान नसक्ने हुँदा विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य भएको हो । गर्मी समयमा अत्याधिक गर्मी हुने र बाढी आएपछि खेतमा रोपार्इं गर्न भनी १ महिना विद्यालय बन्द हुने गरेको छ ।

वर्षापछि खोलामा बाढी आउँदा उनीहरूलाई विद्यालय जान समस्या भएको हो । स्थानीय अमर अधिकारीका अनुसार बाढी आएको समयमा अभिभावकले हात समातेर खोला तारिदिने गरेपछि मात्र विद्यार्थीहरू विद्यालय जाने गर्छन् ।

विद्यालयले दिएको जानकारी अनुसार पनि विद्यार्थी यो समय खोलामा आएको बाढीकै कारण उपस्थित नहुने गरेका छन् । यसरी समस्यामा परेका विद्यार्थीलाई खोलाले बगाएमा अर्को समस्या निम्तन पनि सक्ने भएपछि खोलामा बाढी आउँदा अभिभावकले पनि विद्यालय नपठाउने गर्दा विद्यालयमा सुनसान भएको हो ।

पाँचखाल चोक हुँदै विद्यालयमा घुमेर आउन सम्भव नभएपछि विद्यार्थीलाई यस्तो समस्या परेको हो । वर्षौंदेखि यस्तो समस्यामा रहेको यस विद्यालयले पटकपटक जिल्ला शिक्षा कार्यालयलाई पहल गर्दा पनि चासो नदेखाएकाले समस्या झन् बढ्दै गइरहेको बताइएको छ । अरू बेला इँटाभट्टामा जाने र वर्षाको याममा विद्यालयमा पनि उपस्थित नहुने समस्याका बढी स्थानीय दनुवार समुदायका विद्यार्थीहरू यो समस्या झेल्न बाध्य रहेका छन् ।

प्रतिक्रिया