गाउँगाउँमा हेलिप्याड

सिन्धुपाल्चोक, ५ भदौ । भूकम्पपीडित परिवारलाई राहत ओसार्ने हेलिकप्टर अवतरणका लागि सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भेगका हरेक सम्भावित वस्तीमा हेलिप्याड निर्माण गरिएको छ ।

जिल्लाको विकट वस्तीमा पर्ने गोल्चे गाविसको लिदी, नाम्फा, किप्चे, गोल्चे, निम्लुङ, सन्चगाउँ र साङगुङमा समेत सात हेलिप्याड निर्माण गरिएको गोल्चे गाविसका सहायक प्राविधिक चन्द्रकाजी लामाले बताएका छन् ।उता विकट वस्तीको गुम्बा गाविसको तेम्बाथाङ, क्याङसिङ, गुम्बा, बोल्दे र पाँगर्पुमासमेत ५ वटा हेलिप्याड निर्माण गरिएको स्थानीय वासिन्दा चिनलाल तामाङले बताएका छन् ।

जिल्लाको क्षेत्र नं –३ स्थित हेलम्बुको मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, तिम्बुघायुल, सेर्माथाङ, छिम्तीलगायतका विभिन्न ठाउँमा पनि हेलिप्याड निर्माण गरिएको स्थानीय वासिन्दाले बताएका छन् ।

जिल्लाको विकट वस्तीहरूमा हेलिप्याड निर्माण गरेपछि भूकम्पपीडित परिवार लाई जस्तापातालगायत खाद्यान्न ओसार्न निकै सजिलो भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताएका छन् ।

जिल्लाको माथिल्लो भेगका वासिन्दाहरूलाई राहत लिनका लागि २–३ दिन हिँड्नु पर्ने अवस्था आएको र त्यस्तो दुःख झेल्नुभन्दा श्रमदान गरेर भए पनि स्थानीय बासिन्दा हेलिप्याड निर्माणमा लागेको बताएका छन् ।

प्रतिक्रिया