काठमाडौं, ५ भदौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सात प्रदेशमा चित्त नबुझ्नेले शान्तिपूर्ण प्रक्रियाबाट आफ्ना माग राख्नुपर्ने बताएका छन् ।
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेकोे १०औँ सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सात प्रदेशकै विषयलाई लिएर बन्द हडताल गर्न नहुने बताए ।
उनले भने, ‘प्रदेशकै विषयमा कुरा नमिली संविधान नबन्ने अवस्था आउनुहुन्न, सहमति र सहकार्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने गृहकार्यमा जुटेका छौँ ।’
सो अवसरमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने ८५ जनालाई नेता नेपालले टीका लगाई उनले स्वागत गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं सभासद् अमृतकुमार बोहराले नेपाली जनताको भावना र २०६२÷२०६३ को आन्दोलनको भावनाअनुरूप संविधान जारी गरिनुपर्ने बताए ।
एमाले केन्द्रीय सदस्य एवं सभासद् शेरबहादुर तामाङले सहमति र सहकार्यका आधारमा जारी हुने संविधानलाई मान्दै थप अधिकारप्राप्तिका लागि शान्तिपूर्ण तरिकाबाट जनताको मन जित्नुपर्ने बताए ।
प्रतिक्रिया